माइतीघरमा नारा: ‘सिंगो नेपाल के भन्छ, कुलमान घिसिङ ल्याऊ भन्छ’

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा स्वतन्त्र नागरिकको तर्फबाट युवाहरूले प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा मंगलबार उनीहरूले प्रदर्शन गरेका हुन् ।

हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको सत्तारुढ दलकै नेताहरूले पनि विरोध प्रदर्शन गरेका छन् । कुलामानलाई बर्खास्त गर्ने निर्णय लगत्तै मंगलबार बिहानैबाट रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा सुरक्षा बढाइएको छ ।

‘नेपाली जनताको’ नाममा भएको भनिएको प्रदर्शनमा सहभागीहरूले कुलमानको पक्षमा विभिन्न नारा अङ्कित प्लेकार्ड बोकेका थिए । उनीहरूले ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’, ‘सिंगो नेपाल के भन्छ, कुलमान घिसिङ ल्याऊ भन्छ’, ‘देशलाई अन्धकारमा धकेल्न पाइँदैन’ हामी जनता हेरेको हेरै ,सरकार जान्ने भो धेरै लगायतका प्लेकार्ड प्रदर्शनकारीले बोकेर सरकारको निर्णयको विरोध गरेका थिए ।