राजावादीको सभास्थल तीनकुने क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते

 

काठमाडौँ । राजधानीको तीनकुने क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । घाइतेलाई अहिले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा लगिएको छ । घाइतेको कम्मरमा गोली लागेको छ । शुक्रबार वर्तमान व्यवस्थाको विरोधमा राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेको हो ।

निजी घरमा तोडफोड र आगजनी
तीनकुनेको स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ ।घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो । पछि हवाई फायर गरेको हो । त्यसपछि आगो निभाउन नसकी दमकल फर्किएको छ ।काठमाडौं तिनकुनेमा राजवादीहरुले गणतन्त्र खारेज र राजसंस्था पुनस्र्थापनाको माग सहित आज सभा आयोजना गरेका थिए । तर प्रहरीसँगको धकेलाधकेलले गर्दा तनाव बढेको थियो ।त्यसपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेर भिडलाई तितरवितर पारेको थियो । लगत्तै एक घरमा तोडफोड र आगजनी भएपछि थप तनाव बढेको छ ।राजावादीहरुले तीनकुनेमा गर्न लागेको सभा सुरु हुन नपाई बिथोलिएको छ । त्यहाँ नेताहरु देखिएका छैनन् ।

राजावादी नेताले सम्बोधन गर्ने मुख्य कार्यक्रम बिथोलियो

राजधानीको तीनकुने क्षेत्र अशान्त बनेको छ । राजावादीको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएसँगै सो क्षेत्र अशान्त बनेको छ । दुई पक्षीय झडपसँगै राजावादी नेताहरूले गरेको मुख्य कार्यक्रम बिथोलिएको छ । कार्यक्रम हुँदै गर्दा दुई पक्षीय झडप भएसँगै नेताहरूले सम्बोधन गर्ने मुख्य कार्यक्रम बिथोलिएको हो ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो भने लगत्तै झडपको स्थिति बनेको थियो । सो क्रममा प्रदर्शनकारीले ढुंगामुढा गरे भने प्रहरीले पनि पानीको फोहोरा, लाठीचार्ज र अश्रुग्यास प्रहार गरे ।

झडपका क्रममा ७ जना सशस्त्र प्रहरी घाइते
राजधानीको तीनकुनेमा राजवादी समूहले गरेको प्रदर्शनको क्रममा भएको झडपका क्रममा ७ जना सशस्त्र प्रहरी घाइते भएका छन् । झपडका क्रममा घाइते भएकामध्ये ४ जनाको कान्तिपुर अस्पतालमा उपचार भइरहेको सुरक्षा स्रोतले जनाएको छ । यस्तै प्रदर्शनकारीतर्फ पनि दर्जनौँ घाइते भएका छन्।