चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाहरुको सत्यतथ्य छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन संसदीय समितिले निर्देशन दिएको छ ।
आइतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सरकारलाई राजावादीहरुको प्रदर्शनबाट भएका घटनाहरुको सत्यतथ्य छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको हो ।
समितिको तर्फबाट समिति सभापति अम्मरबहादुर थापाले घटनामा संलग्नलाई कारवाही गर्न र यस प्रकारका घटनाहरु पुनः दोहोरिन नदिन समयमै त्यस्ता गतिविधि नियन्त्रण गर्नेगरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त राखि तयारी अवस्थामा रहन समिति सरकारलाई निर्देशन दिनुभयो ।
सभापति थापाले भन्नुभयो, ‘२०८१ चैत्र १५ गते शुक्रवारको दिन ज्ञानेन्द्र शाहको नाममा भएको अराजक गतिविधिबाट दुई जना नेपाली नागरिकले ज्यान गुमाउनुपरेको, सुरक्षाकर्मीहरु घाइते भएका र सार्वजनिक तथा निजी घर, सवारी साधन तथा लगायतका सम्पतीमाथि आगजनी, तोडफोड, लुटपाटबाट भएको जनधनको क्षतिप्रति यो समिति गम्भीर बनेको छ।’
‘सो दिनको अराजक गतिविधिबाट निजी सम्पती लगायतका सरकारी सम्पतीमा गम्भीर क्षति भएको हुँदा उक्त दिनको घटनाको सत्यतथ्य छानविन गरी संलग्न जो सुकैलाई पनि कानूनी दायरामा ल्याइ हदैसम्मको कारवाही गर्न र यस प्रकारका घटनाहरु पुनः दोहोरिन नदिन समयमै त्यस्ता गतिविधि नियन्त्रण गर्नेगरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त राखि तयारी अवस्थामा रहन समिति सरकारलाई निर्देशन गर्दछ ।’ उहाँले भन्नुभयो ।
समितिले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । घाइतेको उपचारका लागि आवश्यक प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ ।


















