skip this काठमाण्डौं महानगरपालिका ११

रवि लामिछानेले भेटे सभामुखलाई

१९ चैत, काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बन कानुन अनुसार भएको बताएका छन् ।

सभामुख भेट्न मंगलबार सिंहदरबारस्थित उनकै कार्यकक्षमा पुगेका रास्वपा सभापति लामिछानेलाई घिमिरेले भने, ‘कानुन भन्दा माथि कोही पनि छैन । मैले कानुन अनुसार नै गरेको छु जे गरेको छु ।’

भेटमा लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको बताए । सांसद पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा मात्रै निलम्बन हुन सक्ने प्रावधान रहेको पनि लामिछानेले सभामुखलाई स्मरण गराए ।

जवाफमा सभामुख घिमिरेले आफूले कानुन अनुसार नै जिम्मेवारी निर्वाह गरेको बताएका हुन् । सम्पत्ति शुद्धीकरणको मुद्दा लगाउने र सांसद पद निलम्बन गर्ने प्रवृत्ति गलत रूपमा विकास हुन सक्नेतर्फ आफू समेत चिन्तित रहेको उनले बताए । तथापि, आफूले कानुन बाहिर गएर केही नगरेको पनि सभामुख घिमिरेले बताए ।