राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकार गठनको अन्तिम तयारीमा जुटेको छ । पार्टी स्रोतका अनुसार मन्त्री चयनको गृहकार्य अन्तिम चरणमा पुगेको छ भने केही नाममा अझै छलफल जारी छ । पार्टी सभापति रवि लामिछाने बाँकी नाम टुंग्याउन अन्तिम परामर्शमा छन् । उता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन्। सोही दिन सानो आकारको मन्त्रिपरिषद गठन गर्ने योजना रहेको स्रोतले जनाएको छ ।
रास्वपाले १५ देखि १८ सदस्यीय मन्त्रिपरिषद बनाउने तयारी गरेको छ । चुनावी प्रतिबद्धताअनुसार मन्त्रालय संख्या १८ भित्रै सीमित राख्न केही मन्त्रालय गाभ्ने रणनीति बनाइएको छ। स्रोतका अनुसार मन्त्रीमा ‘अनपेक्षित’अनुहारसमेत देखिन सक्ने संकेत छ । सरकार गठनसँगै पार्टी सञ्चालनका लागि केही नेतालाई ‘रिजर्भ’ राख्ने तयारी पनि गरिएको छ । प्रारम्भिक छलफलअनुसार बालेनले प्रधानमन्त्रीसँगै रक्षा मन्त्रालय सम्हाल्ने सम्भावना छ । उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले मन्त्री बन्ने लगभग निश्चित देखिएको छ ।
उनीहरूलाई गृह, अर्थ वा भौतिक पूर्वाधारमध्ये कुनै जिम्मेवारी दिनेबारे छलफल भइरहेको छ । भौतिक पूर्वाधारमा सुनिल लम्साल, परराष्ट्रमा शिशिर खनाल, स्वास्थ्य वा कानुनमा सोविता गौतमको नाम चर्चामा छ । सभामुखका लागि जगदीश खरेल र प्रतिभा रावलको चर्चा भइरहेको छ भने खरेललाई सञ्चार मन्त्रालयका लागि पनि हेरिएको स्रोत बताउँछ ।
यस्तै युवा तथा खेलकुदमा सुदन गुरुङ र पर्यटन वा सञ्चारमा मनिष झाको नाममा छलफल भइरहेको छ । २१ फागुनको निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जित्दै प्रतिनिधि सभामा १८२ सिटसहित बलियो हैसियत बनाएको छ । अब उक्त बहुमतलाई स्थिर सरकारमा रूपान्तरण गर्ने तयारीमा पार्टी केन्द्रित भएको छ ।



















