लागुऔषध ट्रामाडोलसहित नागढुंगाबाट एकजना पक्राउ

काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ स्थित नागढुंगाबाट प्रहरीले लागुऔषध ट्रामाडोल सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको गौशाला घर भएका २७ वर्षीय सविन कुमार महतो छन् ।

वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–००१–०६ ख ५६९२ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्दा ट्रामाडोल फेला परेको हो । महतोले लुकाएर ल्याएको अवस्थामा १९ हजार २ सय ट्याब्लेट ट्रामाडोल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । आरोपीविरुद्ध प्रहरी वृत्त थानकोटले अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।