राप्रपाको प्रदर्शनलाई लक्षित गर्दै सुरक्षाकर्मीको तैनाथी बढाइयो

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गर्दै सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद भवन नयाँबानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालय लगायतका क्षेत्रमा अघिल्ला दिनको तुलनामा आज सुरक्षाकर्मीहरुको टोली बढी देखिन्छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेक तामाङले राप्रपाको प्रदर्शनलाई लक्षित गरी सुरक्षा रणनीति तयार पारिएको बताए । त्यसका लागि आवश्यक सुरक्षाकर्मीहरुलाई विभिन्न ठाउँमा परिचालन गरिएको जानकारी पनि दिए ।
उनका अनुसार निषेधित क्षेत्र तोड्न नदिने र यदि तोड्ने प्रयास भए बल प्रयोग गर्नेसम्मको तयारी छ ।

सरकारलाई नडराउन राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले राजसंस्था पुनस्र्थापना र हिन्दु राज्य घोषणाको माग गर्दै आज बिहान ११ बजे काठमाडौंको बिजुलीबजारमा आज प्रदर्शन गर्दैछ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्न लागेको बताएका छन् । यो प्रदर्शनबाट नडराउन पनि उनले सरकारलाई भनेका छन् ।
लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल, योयो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौं ।’