विद्यालय कर्मचारीहरूले सरकारसँग भएको ९ बुँदे सहमति अस्वीकार गरेको छ। नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले विज्ञप्ति जारी गर्दै उक्त सहमतिमा आपत्ति जनाएका हुन्। परिषद्ले बुधबार भएको सहमतिप्रति असहमति जनाउँदै आपत्ति प्रकट गरेको हो ।
परिषद्ले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाल शिक्षक महासंघले घोषण गरेका आन्दोलन कार्यक्रमप्रति नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भर्त्सना गर्दछौँ।’ बुधबार सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्तापछि भएको सहमतिमा आपत्तिजनक रहेको कर्मचारी परिषद्ले जनाएको छ।
उसले २९ औं दिनमा आन्दोलन कार्यक्रम फिर्ता गरिएकोमा पनि असहमति जनाउँदै आफ्नो आधिकारिक धारणाबाहेकका बुदाँमा असहमति रहेको पनि जनाएको छ। परिषद्ले आगामी दिनमा आन्दोलनका थप कार्यक्रम चाँडै सार्वजनिक गरिने पनि जानकारी गराएको छ। विज्ञप्तिमा परिषद्का महासचिव शान्तिनाथ योगी र अध्यक्ष गंगाराम तिवारीले हस्ताक्षर गरेका छन् ।



















