प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्धबाट प्राप्त शिक्षा महत्वपूर्ण भएको बताएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आज आयोजित २५६९औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस–२०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयक्रममा बुद्धको उपदेश र शिक्षा विश्वका लागि महत्वपूर्ण रहेको बताए । उनले अहिले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई हतियारको बलमा नभई बुद्धबाट प्राप्त शान्तिको सन्देशले मात्र रोक्न सक्ने धारणा व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भारत–पाकिस्तान बीचको द्वन्द्व नेपालसहित अन्तरराष्ट्रिय जगतको अनुरोधपछि दुवै पक्ष संयमित भएका तथा त्यसको परिणामस्वरुप युद्ध रोकिनुका साथै क्षति हुनबाट जोगिएकामा खुसी व्यक्त गरे । केही दिनअघि छिमेकी मुलुक भारत र पाकिस्तानबीच तनावको स्थिति देखिएको प्रसङ्ग उल्लेख गर्दै उनले तर स्थिति त्योभन्दा बढी अघि बढ्न नपाएको र संयमताका लागि दुवै पक्षलाई धन्यवाद समेत दिए ।
“हामीले सुरुदेखि नै तनावको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्यौँ, उहाँहरुसँग पनि कुरा गर्यौँ । उनीहरुले लडाइँमा नजाने प्रतिबद्धता व्यक्त गरे”, प्रधानमन्त्री ओलीले भन्नुभयो । बुद्धको शान्तिको सन्देशको आवश्यकता जहिले र जहाँपनि रहेको उनको भनाइ थियो ।
“बुद्धको सन्देशको महत्व व्यक्तिको मनस्थितिको शान्तिका लागि छ, पारिवारिक शान्तिका लागि र हरेक ठाउँमा उत्तिकै छ”, प्रधानमन्त्री ओलीले भने । विश्वमा युद्ध होडबाजिका नाममा ठूलो सङ्ख्यामा हतियार निर्माण गर्ने र थुप्रो लगाउने काम भइरहेको उल्लेख गर्दै उनले यो विश्वको मानव अस्तित्वका लागि खतरनाक विषय भएको बताए । यस खालका खतरनाक चिजबाट उन्मूक्तिका लागि फेरी पनि विश्व शान्ति र स्थिरताका पक्षमै हामी उभिनुपर्ने हुन्छ भने ।
बुद्धको जन्मथलोको विकासमा योगदान गर्नुहुने सबैलाई स्मरण गर्दै प्रधानमन्त्री ओलीले उनीहरुप्रति आभार व्यक्त गरे । लुम्बिनीको विकासका लागि गुरुयोजना निर्माण गरेर विशेष योगदान पुर्याउने प्रोफेसर केञ्जो टाङ्गेप्रति आभार व्यक्त गर्दै उनले गुरुयोजना पूरा गर्न अझै बाँकी रहेको र सरकारले गुरुयोजना सकेसम्म छिट्टै सम्पन्न गर्नेतर्फ ध्यान दिएको बताए ।
शान्ति, मानवता र करूणा उपदेशलाई आत्मसात गर्दै बुद्धका सन्देश संसारभर फैलाउन आवश्यक रहेको प्रधानमन्त्री ओलीले बताए । मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धका उपदेश मैत्रीभाव र करूणाको प्रवृत्ति हरेक मानिसले आत्मसात गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले बुद्धको शिक्षाको मुख्य उद्देश्य शान्ति, मानवतावाद र करूणा रहेको उल्लेख गर्दै बुद्वका उपदेश र आदर्श हामीले आत्मसात गर्नुपर्ने बताए । बुद्वका शिक्षा र उपदेश फैल्याउन बौद्ध विश्वविद्यालय स्थापना गरिएको बताउँदै उनले विश्वविद्यालयले खोज अनुसन्धानमा ध्यान दिनुपर्नेमा जोड दिए।
बुद्धका शिष्यहरूको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले शान्ति, करुणा र प्रेमजस्ता मूल्यको प्रचारमा उनीहरूले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले बुद्धको शिक्षा त्रिपिटकको निर्माण र बुद्धको शिक्षाको सङ्ग्रह गर्न भिक्षु आनन्दको योगदानको स्मरण गर्दै त्रिपिटकलाई भोजपत्रमा लेखेर सुरक्षित गरिएको उल्लेख गरे । उनले भिक्षु आनन्दले तक्षशिलामा गएर त्रिपिटकलाई लिखित गरेको पहिलो दस्तावेज अहिले पनि भारतको पटना सङ्ग्रहालयमा रहेको बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष बद्रिप्रसाद पाण्डे लुम्बिनीमा बनेको ध्यानकेन्द्र हलको ‘साउण्ड सिस्टम’लाई व्यवस्थित गर्न सरकारले काम अघि बढाएको र आगामी बुद्धजयन्ती अगावै व्यवस्थित हुने जानकारी गराए । लुम्बिनी गुरुयोजना पूरा गर्न तथा लुम्बिनीका साथै वृहत्तर लुम्बिनी क्षेत्रको विकास योजना लागू गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।
लुम्बिनीप्रति स्थानीयको अपनत्व भाव वृद्धि गरेर अगाडि बढ्न भूमिका खेल्ने मन्त्री पाण्डेको भनाइ थियो । उनले गौतमबुद्ध विमानस्थलसँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार तत्परताका साथ लागेको बताए । उनले यसका लागि आगामी जेठ ७ गते यस विषयमा सरोकारवाला निकायसहितको बृहत छलफल आयोजना गरिएको र त्यस छलफलबाट प्राप्त रायसुझावका आधारमा आवश्यक निर्णय गर्ने पक्षमा सरकार रहेको स्प्ष्ट गरे ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध दर्शनको महत्व दिन प्रतिदिन बढिरहेको उल्लेख गर्दै आजको दिनमा बुद्ध शिक्षालाई अझ व्यापक बनाउन जरुरी रहेको बताए । उनले लुम्बिनी विश्वको आस्थाको केन्द्र भए पनि यहाँ पर्यटक ल्याउनका लागि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्यारक्याल लामाले हिंसा र द्वन्द्व अन्त्य गर्न तथा बुद्ध दर्शनको सन्देश विश्वव्यापी रुपमा फैल्याउन जरुरी रहेको बताए । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीच ऐतिहासिक, पुरातात्विक र संस्कृतिक सम्बन्ध रहेको कुरा भगवान गौतमबुद्धको जन्मदेखि परिनिर्माण सम्मको इतिहासले स्पष्ट पारेको बताए ।


















