यातायात व्यवसायी राष्ट्रिय महासंघले आब्हान गरेको आन्दोलनका कारण यातायात व्यवसायीहरूले आज पनि सार्वजनिक सवारी साधन चलाएका छैनन्।
सरकार र यातायात व्यवसायीबीच सोमबार राति छबुँदे सहमति भएको थियो।
सरकार र यातायात व्यवसायी छलफलमा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी निर्देशिका स्थगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत अनुरोध गर्ने सहमति भएको थियो। यसलाई गण्डकी प्रदेश सरकारले कार्यान्वयन गर्न बाँकी रहेकाले आन्दोलनका कार्यक्रम यथावत रहेको महासंघका उपाध्यक्ष सरोज सिटौलाले बताए।
‘संघीय सरकारसँग सहमति त भएको छ। त्यसलाई गण्डकी सरकारले कार्यान्वयन गर्नुप¥यो। उसले कसरी रेस्पोन्स गर्छ त्यही अनुसार हामी अघि बढ्छौं। अहिलेलाई बन्द यथावत् छ,’ उनले भने।
यातायात व्यवसायीको आन्दोलनको असर सडकमा देखिएको छ। सार्वजनिक सवारी साधन नचलेपछि यात्रुहरू हिँडेरै गन्तव्य जान विवश छन्। अस्पताल जानुपर्ने बिरामी पैदलै यात्रा गरिरहेका छन्। साझा लगायत फाट्टफुट्ट चलेका सार्वजनिक सवारीले यात्रुको चाप थेग्न सकेका छैनन्।
यसैबाट राहत दिन नेपाल प्रहरी र सशस्त्रले सोमबार चक्रपथ लगायत रुटमा सवारी साधन चलाएर यात्रुहरूलाई गन्तव्यमा पु¥याउन सहजीकरण गरेका थिए।


















