अमेरिकाका सङ्घीय न्यायाधीश एलिसन बुरोले हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रवेश नदिने ट्रम्प प्रशासनको निर्णयलाई अस्थायी रूपमा रोक लगाएका छन् । यो प्रतिबन्ध लागू भयो भने अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालयले तत्काल र ठुलो क्षति भोग्न सक्ने म्यासाचुसेट्सका न्यायाधीश एलिसन बुरोले भने ।
हार्वर्डले बिहीबार अदालतमा दायर गरेको मुद्दामा यो निर्णय आएको हो । डोनाल्ड ट्रम्पको प्रशासनले जानाजानी आफूहरूलाई लक्षित गरिरहेको र आफ्नो अभिव्यक्ति स्वतन्त्रतालाई दबाउन खोजिरहेको आरोप हार्वर्डले लगाएको थियो ।
तर ट्रम्पले यो प्रतिबन्ध देशको सुरक्षाको लागि आवश्यक रहेको बताएका छन् । उनले हार्वर्डलाई क्याम्पसभित्र यहुदी विरोधी गतिविधिहरू रोक्न पर्याप्त काम नगरेको पनि आरोप लगाएका छन् ।


















