२०८१ पुसदेखि २०८१ चैत मसान्तसम्म राहदानी विभागबाट ४ लाख ५७ हजार १ सय ६८ थान राहदानी जारी भएको छ । शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सरकारले यसबारेमा जानकारी गराएको हो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका अनुसार २०८१ पुसदेखि २०८१ चैत्र मसान्तसम्म राहदानी विभागबाट कुल ४ लाख ५७ हजार १६८ थान राहदानी जारी भएको छ ।
यस अवधिमा रोमानिया, पोल्याण्ड, साउदी अरेबिया, युएई, कतार, मलेसिया र जापानमा थप घुम्ती टोली समेत खटाई राहदानीको सेवा प्रदान गरिएको उनको भनाइ छ । परराष्ट्रमन्त्री राणाले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका उपाय प्रस्तुत गर्न समिति गठन गरिएको पनि जानकारी दिइन् । वैदेशिक रोजगारसँग सम्बन्धित समस्याहरूको समाधानका उपाय पेस गर्नेगरी परराष्ट्र मन्त्रालयको संयोजकत्वमा एक समिति गठन गरिएको बताइन् ।



















