ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई अनलाइनमार्फत कक्षा लिने प्रविधि विकास गरिएको छ । देशभरका ट्राफिक प्रहरी युनिटहरूले अनलाइनमार्फत कक्षा लिन लागेका हुन् ।
आइतबार गृहमन्त्री रमेश लेखकले अनलाइन सचेतना कक्षा शुभारम्भ गर्ने कार्यक्रम घोषणा गर्दैछन् । प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम मार्फत मन्त्री लेखकले अनलाइन कक्षा शुभारम्भ कार्यक्रम घोषणा गर्न लागेका हुन् । मापसे, रातो बत्तीको उल्लङ्घन, ओभर स्पिड र लेन क्रस गर्ने चालकलाई अहिले भौतिक रूपमा कक्षा लिने गरिएको छ । अब, देशभर अनलाइन माध्यमबाट सचेतना कक्षा लिन सकिने प्रविधि विकास गरिएको छ ।
नागरिक एपमा आबद्ध चालकहरूले अनलाइन माध्यमबाट कक्षा लिन सक्ने प्रविधि विकास गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने– ‘अनलाइन कक्षा लिनको लागी चालक नागरिक एपमा आबद्ध भएको हुनुपर्छ ।’ कोरोना सङ्क्रमणको समयमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले परीक्षणको रूपमा केही समय अनलाइनमार्फत कक्षा लिएको थियो ।


















