छयान्नब्बे वटा एकै घर: हरित थुम्कोका हर्षोल्लास परिवार

लेखन काल्पनिक वा यथार्थपरक दुवै हुन सक्छन्। कोरा कल्पनामा दौडंदा कहिले काहीं पाठक रनभुल्ल पर्न सक्ने अवस्था हुन सक्छ। वास्तविकता पक्डेर लेख्ने हो भने त परिवेशका सबैले अपनत्व महशूस गर्छन्। यही यथार्थ धरातलमा टेकेर हरित थुम्कोको बारेमा केही लेख्न प्रात: भ्रमणले घच्घच्यायो।

सर्वप्रथम, शीर्षकमा रहेको ‘हरित थुम्को’ के हो? भन्ने जिज्ञासा हुन सक्ने हुंदा हरित थुम्कोको थोरै चर्चा गरौं। सामान्य अर्थमा भन्ने हो भने: केही हरियाली भएको, डांडो बन्न नसकेको एउटा सानो ढिस्को, थुम्को, अग्लो स्थानमा रहेको सानो भूभागलाई नै हामी थुम्को मान्छौं। हो त्यही हो, यो हरित थुम्को। २०७७ जेष्ठ ४ गते कोरोनाको कहरमा आफू बसेको स्थान अर्थात् संस्थाले दिएको नाम ‘ग्रिन हिल’लाई नेपालीकरण गरेर ‘हरित थुम्कोको बास: कोरोना सन्त्राश’ भनेर मैले छोटो कविता कोरेको थिएं। त्यही कविताबाट हरित थुम्को यहाँ सापटी लिएर शीर्षकमा मिसाएको हूँ । ग्रिन हिल सिटी प्रा.ली.का अध्यक्ष श्री भेषराज लोहनीको तर्फबाट निर्मित परियोजना हो यो। ललितपुर स्थित महालक्ष्मी नरगपालिका वडा नम्बर ४ पुरानो नाम गोल घटृ हालको इमाडोलमा रहेको यही ‘ग्रिन हिल सिटी’को बारेमा चर्चा गर्न खोजिएको हो।

पैंतालिस रोपनी क्षेत्रफलमा निर्मित ९६ घरघुरीको यो सानो गाउँलाई संस्थाले विशाल नाम ‘ग्रिन हिल सिटी’ दिएकै हो। उत्तर दक्षिण तीन लहरमा बुनिएको ६ हार घरहरु एकनासे छन्। पूर्व, पश्चिम एवं उत्तरका केही घरहरुमा सडक तह भन्दा तल पनि कोठाहरु छन्। तर यी छिंडी कोठा ओस लाग्ने, अध्यारो हुने गुम्सिने खालका छैनन्, किनकि काल्ले जमिनको बनौटलाई निर्माण विधिले उपयुक्त तरिकाले समेटेको छ। ४/५ आने देखि १४ आना सम्मको जमिनमा घरहरु बनेका छन्। तर पनि समग्रमा हेर्दा ती सबै एकनासे देखिन्छन्। घरको अग्रभागको दुबै सडक किनारामा निलकांडाको बुट्यानलाई कटनी गरेर चटक्क मिलाइएको छ, जुन सधैं हरियो हुन्छ। घरको मोहडामा तथा माथी बार्दलीमा सबै घरले विविध प्रकारका फूलहरुले सजाएका छन्। बाहिरबाट जाने जो कोहीले राम्रो नमुनीय बस्ती रहेछ भनेर भनिदिन्छन्। तब यहाँंका बासिन्दा मखलेल हुन्छन्। शहर हुन न्यूनतम घर संख्या कति हुनु पर्ने हो, सो त थाहा भएन। तथापि, नामको सार्थकता जोगाउन त पर्‍यो, यहाँ गज्जबले जोगाइरहेको अवस्था छ।

गज्जब यस मानेमा छ कि, मधेश, पहाड एवं उपत्यकाको यहां मिश्रण भएको छ। मेचीका पन्त र महाकालीका चन्दको घर जोडिएको छ। सेना, प्रहरी, निजामती, चिकित्सक, इन्जिनियर, व्यापारी, उद्योग व्यवसायी, सूचना प्रविधि विज्ञ, वकिल तथा न्यायाधीश, समाज सेवी अथवा राजनैतिक व्यक्तित्वहरु के को छैनन् यहाँ ? सबै छन् र त सबै जात जाती, पेसाका पूर्व देखी पश्चिम सम्मका नेपालीहरुको साझा फूलबारी यो हुन सकेको छ। सामुहिक आवासको अवधारणा अनुरुप घर परिवेशलाई दुरुस्त राख्न सरकारमा दर्ता भएको संस्था एवं सो अन्तरर्गतको सञ्चालक समिति छ। दैनिक सरसफाई गर्न, विद्युत पानी जस्ता अत्यावश्यक परिआउने कार्य गर्न प्राविधिक, सुरक्षा कर्मी तथा संयोजक समेत्को १०/११ जना कर्मचारीको व्यवस्था छ। साना भए पनि दुई खुल्ला हरियो चौर जहां जेष्ठ नागरिकहरु टहल्दै गर्दा थकाइ लाग्दा बसेर वातमार्न बेञ्चीको बन्दोबस्त छ। सांझमा त्यहीं रमाउने हो भने झलक मलक बत्तिले अर्कै रौनक दिन्छ। केटाकेटीका लागि खेल्न सानो भए पनि खेल मैदान छ। युवा/बयस्कका लागि जिम/साउना आदिका सरसामान सजाइएका छन्। केही सयका लागि भोज गर्न वा बैठक, कार्यशाला अथवा छलफल कार्यक्रम राख्न एउटा सभाकक्ष छुट्याइएको छ। काठमाडौं उपत्यका देशको राजधानी, तर पानीको काकाकूल भएकैले गर्दा जमिन मुनीको पानीलाई संल्याउन विभिन्न तहमा पानीको व्यवस्थापन र सोका लागि चाहिने रसायनको बन्दो बस्तीका चरणहरु पुरा गर्नु नै छ। अर्थात् पानीको लागि महंगो प्रविधि अवलम्बन गर्नै पर्छ। रमाइलो छ, गज्जब छ।

स्वच्छन्द निबृत्त जीवन विताइरहेकी प्रा.डा.शुष्मा आचार्यको नेतृत्व एवं पहलमा गठित आमा समुह सक्रियरुपमा कृयाशील छ। तीन पुस्तासंग जोडिएका यस्ता आमाहरुको समुहले यहां विविध कार्यक्रमहरु आयोजना गर्छन्। चाहे त्यो असार १५ को दहि चिउरा होस् वा साउन १५ को खिर! यस समुहमा सदस्यको जन्मदिन विषेश प्रकारले मनाइन्छ। जसको जन्मोत्सब हो निजलाई कपडा उपहार दिइन्छ। उक्त व्यक्तिको घर परिवार समेत्ले सामुहिक जन्म दिन मनाउंदै खाजाको व्यवस्था गर्छ र सबै जेष्ठ महिलाबृन्दलाई रमाउने वातावरण बनेको छ। यस समुहमा आबध्द भएका सबै महिला जेष्ठ नागरिकहरु आ–आफ्ना बाल्यकाल, मधेश, पहाड कन्दराको उसवखतको परिस्थिति, जीवनका उकाली ओराली एकआपसमा साटासाट गरेर रमाइरहेका पाइन्छन्। अर्थात् उमेर ढल्कंदैको अवस्था किन नहोस्, एक अर्काबाट अनुभवजन्य कुराहरु सिक्ने, ग्रहण गर्ने काम त सधैं भइरहने रहेछ।

 

माथी शीर्षकमा एकै घर…हर्षोल्लास परिवार किन लेखियो? सायद जवाफ आइसकेको छैन। तब एकाध घटना अध्ययनको विवेचना गर्नुपर्ने भयो। एकपटक बालबच्चा छुटृी मनाउन काठमाडौं बाहिर गएको अवस्थामा, कुनै घरको दम्पती मध्ये एक मुटुरोगी अकस्मात विरामी पर्छन्। अर्को दौडेर नजिकको मुटु चिकित्सक कहां पुग्छन्। चिकित्सक परिवार पनि घुम्न निस्क नै लागेका हुन्छन्। तैपनि, चिकित्सक तत्काल विरामी कहाँ आएर जाच्छन् र भन्छन्: आत्तिनु पर्ने देखिंदैन तर पनि अस्पतालमा गएर अमुक कुराहरुको परिक्षण गराएर हेर्नु भने जरुरी छ, अस्पताल त अहिलेनै लग्नु पर्‍यो। अस्पताल जान कठिन छ भने, बरु म अस्पताल पुर्‍याएर मात्र परिवारसंग निस्कन्छु। जोडी मध्येले अस्पताल लग्न सक्ने स्थिति बताए पछि, निज चिकित्सकले अस्पतालमा कुनै चिकित्सकको नाम फोनमात्र टिपाएनन्, त्यहां पुग्दा त ती चिकित्सक बिरामीलाई कुरेर बसिरहेको पाइयो। उनले नेपाल थोक पुगेर प्रथम चरणका परिक्षणका कुराहरु सोधेका रहेछन्। पुन: केही समयमा अर्को ई ई जी गरेर के फरक आउँछ, हेर्न भनेका रहेछन्। अन्तमा अस्पतालबाट सबै परिक्षणको प्रनिवेदन फोटोप्रती प्राप्त गरि सन्तोषजनक लागे पछि, सायद् जनकपुर नजिक पुगेपछि होला, ती चिकित्सकले आफू ढुक्क भएर ती विरामीका आफन्तलाई अब घर लगे हुन्छ भनेर फोन गरेका रहेछन्।
रातको पछिल्लो पहरमा जोडी मात्र रहेको एक छिमेकीलाई कुनै प्रकारको शारीरिक कठिनाई हुन्छ। श्रीमतीले मोटर नचलाउने कारणले अस्पताल लग्न कठिनाई पर्छ। तब नजिकको छिमेकी भाईलाई फोन गर्ने नगर्नेमा दुविधा हँुदा हुँदै, पीडाले जित्छ र फोन गरिन्छ। युवा केटाले रातमा आएको फोन देखेर हडबडाउंदै १० मिनेट भित्रै निस्कने भनेछन्। अस्पताल लगिएछ, जांच पडताल भएछ। तब केही दिन अस्पतालमै बसेर उपचार गराउनु पर्ने अवस्था देखिएछ। तापनि, सजिलै सो स्थितिको निवारण भएछ।

समुदायका युवा जमात् वा जेष्ठ नागरिकहरु सधैं बिहान र बेलुकीपख आवास भित्र मज्जासंग गफ्फिदैं हिंडीरहेका हुन्छन्। पाहुना आएका महानुभावहरु अचम्म मान्दै हेर्दै, विस्तारै समुहमा मिसिंदै तीनले पनि आनन्द लिएको पाइन्छ। हालसम्मको परिवेशलाई हेर्दा यस स्थानमा आउने नञां व्यक्ति नलोभिएको आभास हुंदैन।

समुदायले केही नियम पद्धती कोरेका छन्। तिनलाई सधैं पालना गर्छन्। घरहरुका यी तीन गल्लीमा मोटर एकतर्फी मात्र गुडाउने, एउटा मोटर अनिवार्य घर भित्रै राख्ने, दुइवटा भएमा समितले तोकेको स्थानमा शुल्क तिरी बिसाउने, पाहुना आउँदा उनका मोटरको व्यवस्थापन सम्बन्धीत घरवालाले उचित स्थानमा गराउने, नयाँ मानिस आंउदा कुन प्रकारले मोटर एकतर्फी बाटो पक्डेर बाहिर निस्कने भनेर सिकाउने आदि सबैबाट हुने गरेको छ।

यस आवासमा स–साना नानीबाबुहरु सबै सुसंस्कृत हुंदैछन्। अर्थात् आफू भन्दा अग्रजलाई आदर गर्ने कुरा सिकिरहेका छन्। नमस्ते अथवा टाउको झुकाएर हातको आशिर्वाद थाप्ने गरेको पाइन्छ। यहां सबै उमेरका आ–आफ्नै समुह छन्। स–साना त झन यस्ता छन् कि उनीहरु आपसमा अंग्रेजीमा मात्र कुरागर्छन्, म जस्तोले त उनका कुरा पटक्कै बुझ्दिन। दश जोड दुई पढ्ने समुहका वा नोकरी उमेरका युवा महिला/पुरुषका समुह वा पाका समुह सबका आ–आफ्नै झुण्ड हुनु यस आवासको अर्को सौन्दर्य ठानिएको छ। यस्तो संस्कृती पछि सम्म रहेमा यी बाल तथा युवाहरु उच्च नैतिकताले युक्त मानव बन्ने देखिन्छन्। पढाई, सिकाईमा अधिकांश अब्बल छन्। दशकक्षाको परिक्षा नजिक पुगेको, विद्यार्थी समुहको नमूना संयुक्त राष्ट्र सङ्घ कार्यक्रमको नेपालमा संयोजन गरिरहेको, यहांको एउटो विद्यार्थी २०८०को माघमा न्यूयोर्क स्थित संयुक्तराष्ट्र सङ्घको महासभा हुने भवनमा प्रस्तुती दिन पुगेको एउटा स्मरणीय उदाहरण हुन सक्ला।

यस आवासका सबै एक परिवार बन्दै गएको आभास यसरी पनि पाइन्छ कि, कुनै परिवारमा भएको पूजा, ब्रतबन्ध, गुनेऊंचोलो वा विवाह जस्ता जुन सुकै शुभ कार्यमा सम्पूर्ण घरलाई निम्त्याउन थालिएको छ। कतिपय कार्यक्रम, जुन इमाडोल बाहिर हुन्छन्, तापनि जमात भने हरित थुम्कोकैले जित्ने गरेको छ, क्या गज्जब!

आवासका कतिपय सदश्यहरु बैंकमा हुन्, जलश्रोतको विकास गर्ने वा कम्पनीमा हुन्, यातायातको लागि चाहिने इन्धन वितरणमा हुन्, अस्पताल सेवामा हुन्, बास्तुकला वा संरचना निर्माणका इन्जिनियरहरु हुन्, सामाजिक कार्यमा लागेका हुन्, अन्य उद्योग व्यवस्थायमा हुन्, पूर्व सैनिकनै हुन् अथवा जो जेमा आवद्ध थिए/छन्, ती अधिकांश उपल्लो तह, दर्जा र हैसियत बनाएको स्थानमा रहेका छन्। त्यसैले यी व्यक्तिहरु जतासुकै केही न केही गरिरहेका हुन्छन्। उदाहरण: व्यक्ति सक्रिय भएर रहनु पर्छ, हुन सक्छ, हुन्छ भन्ने मान्यतालाई अंगिकार गरेर लाकुरी भञ्ज्याङको थोरै उत्तर बतासे डाँडामा नहुँदा सेवाले निर्माण गर्न थालेको सक्रिय जेष्ठ नागरिक सबल धामको लागि आइपर्ने आर्थिक/सामाजिक कार्य गर्न यसै आवासका ४ घरका केही सदश्यहरु तनमनले लागिपरेका छन्।

यस आवासको स्थान परिवेश, सडक सञ्जालसंगको निकटता एवं निर्माण प्रविधि पनि विवेचनीय हुन सक्छ। सुनियो: यो स्थान पहिले ईंटा भटृा थियो। पछि कुनै बुद्ध धर्मावलम्बीले गुम्बा बनाउन किनेको। कुनै कारणबश त्यो सम्भव नभएको अवस्थामा नेपाल रिपब्लिक मिडिया अर्थात् नागरिक पत्रिकाले खरीद गरेको रहेछ। तद्पश्चात् ग्रिन हिल सिटी प्रा.ली.ले किनेर यसलाई आवासमा रुपान्तरण गरेछ। स्थानको हकमा लामाटार जाने मूल सडकसंग जोडिएको अर्थात् ललितपुर ग्वार्को विन्दुबाट २.४ किलोमिटरमा दक्षिणतर्फ यस आवास अलिक उचालिएको थुम्कोमा रहेको छ। डुवानबाट बचेको, अलिक उचो हुंदा हावा सरर बहने, मुल सडकको पां पां र पूं पूंबाट जोगिएको, चारैतर्फबाट घेराबन्दी/सुरक्षा रहेको आवास अद्वीतीयनै छ। यो हरफकार विपद् विधाको एउटा साधारण विद्यार्थी समेत् भएकोले सुरूदेखिनै निर्माणको काम अभिरुचीपूर्वक हेरिएको हो। भवन संरचना निर्माण विधिमा प्राविधिक पक्ष सबै उत्कृष्ट छ। तथापि, प्लाष्टर पछिको पानी पटाई, विद्युत/टेलिफोन/नेटका जमिनमुनीका पाइप विछ्याई, टाएल वा धाराका सरसामान जोडाइमा केही लापरबाही भएको भने पाइयो। अर्थात् खर्चमा कञ्जुस्याईं नभए पनि काम भइरहंदाको सुपरिवेक्षणको कार्यमा भने कमीकमजोरी भएको प्रमाणित भइरहेको छ। समग्रमा भन्दा आवास उपयुक्त छ!

काठमाडौं उपत्यकामा बस्ती विस्तार २०३०को दशक देखि शुरू भएको हो। यद्यपि, त्यस बखत घर बनाउनेले आफ्नै जग्गामा शौचालय, सेफ्टीट्याङ्की, सकपीट आदि बनाउनु पर्ने हुन्थ्यो। तर ४०को दशक आउंदा सरकारले सडकमा ढल हाले देखि बिकृती शुरू भयो। ढल लगेर खोलामा मिसाइयो। कुन आवासीय बस्ती हुने, कुन स्थानमा व्यापारिक ठुला भवन बन्ने, कुन प्रकारको संरचना कति अग्लो, चौडा हुने केही पनि तोकिएन। म एउटा साधारण मानिसले तला थप्दै ५/७ तलाको घर बनाउन सक्ने भएं। अर्थात् विकसित शहरमा हुनुपर्ने आधुनिक मापदण्डबाट काठमाडौं उपत्यका बञ्चित हुन थाल्यो। फलस्वरुप व्यक्तिगत जग्गाको आंठो आंठोमा दाञा बाञा केही फुट छाडेर तथा नागबेली राजकुलोलाई अलिक फटाएर बाटो र पछि सडक बनाइयो। शहरको दुर्गती यसरीनै हुंदै गएको हो। अझै पनि जग्गावालाको हकहित शुरक्षित गर्दै, खाली स्थान अधिकरण गरेर आधुनिक शहर बनाउने सोच सरकारमा/पालिकामा पलाएको छैन। दुर्भाग्य देशको!
नेपालमा जहां जहां हरित थुम्को जस्ता आवास बनेकाछन्, तीनमा कम्तीमा तोकिएको मापदण्ड पुरा भएका हुनुपर्छ्। आधारभूत सर सुविधालेयुक्त होलान्। तसर्थ आगामी दिनमा व्यक्ति व्यक्तिले स–साना टेढो मेढो, कुना काप्चा च्यापेर अडबङ्गे घर बनाउने कुरामा अंकुश लगाई, आवास निर्माण कम्पनीहरुलाई मापदण्ड तोकेर सरकारले निर्माण गर्ने जिम्मा दिनु उपयुक्त देखिन्छ। बानेश्वर हाइटको बसोबास छाडेर यहां आएका हौं तापनि, हाम्रो परिवारको हकमा यो आवास सुविधाजनक रहेको कुरा पुष्टि भएको छ। यहांका साना देखी हामी जेष्ठ नागरिकसम्मका सबै एकअर्काका सहयोगी छौं, माञा, प्रेम, सद्भाव तथा आत्मियतामा बांचेका छौं र त हामी सबै ‘छयान्नब्बे वटा एकै घर: हरित थुम्कोका हर्षोल्लास परिवार’ बनेका छौं। अस्तु!