नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार निरन्तर सञ्चालन हुने बताएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेकपा ९एमाले० र नेपाली कांग्रेसको संसद्मा बहुमत र सहमति कायम रहुन्जेलसम्म सरकार परिवर्तन हुन नसक्ने प्रष्ट पारे ।
पूर्वप्रधानमन्त्री नेपालले सम्मानित नेता झलनाथ खनालले पार्टीविरुद्ध बोल्नुभएको हो भने नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । उनले आफूविरुद्ध पतञ्जलीको जग्गासम्बन्धी भ्रष्टाचारको मुद्दा पूर्वाग्रह रूपमा लगाइएको हो भन्दै हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्न पाउन जिल्ला तहदेखि सर्वसम्मत रूपमा निर्णय भएकाले यो भ्रष्टाचारको मुद्दा नै नभएको प्रष्ट पारे।
अध्यक्ष नेपालले भने, “पतञ्जलीको जग्गा बिक्री प्रक्रियामा कुनै कानुन उल्लङ्घन नभएकाले बढी जग्गा बिक्रीबाट नेपाल सरकारलाई फाइदा पुगेको छ ।” उहाँले नेकपा (माओवादी केन्द्र) सँग विश्वासको वातावरण तयार गर्न एवं समाजवादी मोर्चालाई निरन्तरता दिन छलफल एवं वार्ता भइरहेको जानकारी दिए ।
उनले मुलुकको राजनीति चुनौतीलाई सामाना गर्न एवं विचार र मुद्दा मिल्ने लोकतान्त्रिक शक्ति एवं वामपन्थी घटकहरूबीच सहकार्य गरी अगाडि बढ्न मोर्चा निर्माण गरिएको बताउ । उनले पार्टीको निर्णय उल्लङ्घन गर्ने रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिएको र आगामी बैठकले निर्णय गर्ने बताए ।


















