यूक्रेन युद्ध अन्त्यबारे छलफलका लागि फ्रान्स, जर्मनी र बेलायतका नेताहरूको भर्चुअल बैठक

फ्रान्स, जर्मनी र बेलायतका नेताहरूले आइतबार भर्चुअल बैठक आयोजना गर्दै युक्रेनमा जारी युद्ध अन्त्यका लागि आवश्यक कदमहरूबारे छलफल गर्ने भएका छन् । यो बैठक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा सम्पन्न शिखर वार्तापछि हुने भएको हो ।

उक्त शिखर वार्तामा युक्रेन तथा युरोपेली मित्र राष्ट्रहरूलाई सहभागी गराइएको थिएन । युक्रेन र उसका युरोपेली साझेदारहरूले यसलाई रूसको सैन्य कार्यवाहिलाई समय दिन खोज्ने रणनीति भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । अलास्काबाट वासिङ्टन फर्कंदै ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग छलफल गरेका थिए । उनले भने, “सबै पक्षले सहमति जनाएका छन् । यो भयानक युद्धको अन्त्यका लागि सबैभन्दा उपयुक्त उपाय प्रत्यक्ष शान्ति सम्झौतामा पुग्नु हो ।”

ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविराम सम्झौताहरू धेरै जसो दीर्घकालीन नहुने उल्लेख गरेको थियो । तर युक्रेनी राष्ट्रपतिले यो नयाँ रणनीतिप्रति केही अनिश्चितता प्रकट गर्दै शनिबार भने,“यसले स्थिति अझ जटिल बनाएको छ ।” उनले थपे, “यदि रूसले आक्रमण रोक्न साधारण आदेश पनि मान्दैन भने, छिमेकीहरूसँग दीर्घकालीन शान्तिपूर्ण सहअस्तित्वका लागि सहमति गराउन ठूलो प्रयास आवश्यक पर्नेछ ।”

पुटिनको प्रस्तावमा ट्रम्पको समर्थन
एक अधिकारीका अनुसार ट्रम्पले वार्तामा पुटिनको प्रस्तावलाई समर्थन जनाएका छन्, जसअनुसार रूसले पूर्वी युक्रेनको डोनबास क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिन चाहन्छ र त्यसको साटो दक्षिणी युक्रेनको केही क्षेत्रहरूमा युद्धविराम प्रस्ताव गरेको छ । तर युक्रेनी पक्षले डोनबास छोड्न अस्वीकृति जनाएको छ ।

ट्रम्पले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने तयारी रहेको समेत बताउनुभएका छन्, जसलाई जर्मन चान्सलर फ्रेडरिक मर्जले ‘महत्त्वपूर्ण प्रगति’ को रूपमा स्वागत गरे । युरोपेली संघकी कूटनीतिज्ञ काया कालसले भने पुटिनले युद्ध तत्काल अन्त्य गर्ने कुनै योजना नभएको बताउँदै वार्ता लम्ब्याउन खोजेको आरोप लगाए।

जेलेन्स्कीको ह्वाइट हाउस भ्रमण
यसैबीच, आगामी सोमबार युक्रेनी राष्ट्रपतिको वासिङ्टन भ्रमण प्रमुख कूटनीतिक घटना बन्ने अपेक्षा गरिएको छ । केही युरोपेली नेताहरूलाई पनि सहभागी गराउने तयारी भइरहेको छ ।

जेलेन्स्कीको फेब्रुअरी महिनाको श्वेत भवन भ्रमण तनावपूर्ण भएको थियो, तर यसपटक दुई पक्षबीच सकारात्मक संवाद हुने अपेक्षा गरिएको छ । शनिबार ट्रम्पसँग ‘गहन’ छलफलपछि जेलेन्स्कीले भने, “म वासिङ्टन जान उत्साहित छु र युद्ध अन्त्यसम्बन्धी सबै विषयमा विस्तृत छलफल गर्न इच्छुक छु ।”

युद्ध जारी, दबाब कायम
यसैबीच, युक्रेनमा सैन्य संघर्ष जारी रहेको छ । कीभले शनिबार जनाएअनुसार, रूसले रातभर ८५ ड्रोन आक्रमण र एउटा क्षेप्यास्त्र प्रहार गरेको छ ।

मस्कोमा पुटिनले ट्रम्पसँगको शिखर वार्ता ‘समयमै र अत्यन्त उपयोगी’ भएको बताए । उनले युक्रेन र युरोपेली देशहरूलाई ‘पछाडि पछाडि चलखेल नगर्न’ आग्रह गर्दै यस प्रगतिलाई निरन्तरता दिन प्रेरित गरे ।