skip this काठमाण्डौं महानगरपालिका ११

डा भट्टराईद्वारा नेसपा (नयाँ शक्ति) को अध्यक्ष पद त्याग

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले बुधबार अप्रत्यासित रुपमा पद त्याग गरेको घोषणा गरेको छ ।

दीपज्योती बैङ्क्वेट बौद्धमा आज बसेको नेसपा (नयाँ शक्ति)को केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा अध्यक्ष डा भट्टराईले पदत्याग गर्ने प्रस्ताव पेस गर्नुभएको र केन्द्रीय समितीद्वारा स्वीकृत गरेको सो पार्टीका प्रवक्ता कृष्ण शर्माले जानकारी दिए। उनले भने, “अध्यक्ष भट्टराईको पदत्याग गर्ने प्रस्ताव केन्द्रीय समितीद्वारा स्वीकृत भएको छ । पार्टीका उपाध्यक्ष दुर्गा सोवको अध्यक्षतामा महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरिको छ ।”

महाधिवेशनसम्मको निम्ति उपाध्यक्ष दुर्गा सोबलाई संयोजक र महासचिव सोनामसिंह स्याङ्तानलाई सदस्य सचिव तथा पार्टी प्रवक्तामा कृष्ण शर्मालाई तोकिएको सो पार्टीका केन्द्रीय सदस्य टङ्क धमलाले बताए । उहाँका अनुसार नेसपा (नयाँ शक्ति) ले आउँदो फागुन महिनासम्ममा आफ्नो पार्टीको विशेष महाधिवेशन गर्ने तयारी गरेको छ ।

भदौ २३ र २४ गते जेनजी विद्रोहले नेपालको शासनप्रणाली नै पल्ट्याइदिएपछि हरेक राजनीतिक दलहरूमा पार्टी पुनर्गठनको बहस चलिरहेको छ ।जेनजी विद्रोहको परकम्पपछि भट्टराईले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएका थिए । बैठकमा भट्टराईले आफू नेतृत्वको वैकल्पिक नयाँ शक्तिले उठाउँदै आएको विषय जेनजी विद्रोहले साकार पारेको बताएका थिए । सम्बोधनको अन्त्यमा उनले जेनजी विद्रोहले राजनीतिमा रुपान्तरण खोजेको भन्दै नयाँ वैकल्पिक शक्ति निर्माणका लागि पद त्याग गरेको घोषणा गरेका हुन् ।