skip this काठमाण्डौं महानगरपालिका ११

प्रभासको ‘प्रभासगीता–महाकाव्य’: पढे पछिको छोटो टिप्पणी

कुरो आजभन्दा झण्डै चारवर्ष अघिको हो। इमाडोलमा हाम्रा छिमेकी,पश्चिम नेपालका होनहार उद्योगपति मध्येका श्री खगेश्वर बोहराले हातमा पंहेलो झोलामा एउटा गह््रुङ्गो जस्तो बस्तु लिएर हामी कहां आउनुभयो । सायद् यसले त पक्कै पढ्छ होला भन्ने अभिप्राय राखेर होला, यो हाम्रो भेगको बरिष्ठ कविले लेख्नभएको महाकाव्य हो,ल पढनु होला भन्दै मेरा हातमा दिएको सम्झनाबाट यो आलेख सुरु गरेको छु ।
आर.डी, ‘प्रभास’ चटौतको ‘श्री मद्भागवद् गीता (प्रभासगीता–महाकाव्य)’ एउटा भव्य पुस्तक रहेछ। १९ पाना त पृष्ट सूचि भन्दा अगाडीका छन्। २०६६ मा छापिएको यो किताबमा अन्तिम पृष्ट १३३० उल्लेख छ। २८ से.मी. लम्बाई तथा २० से.मी. चौडाइको यो भिमकाय पुस्तक देख्दा नै म जस्तो अल्छी पाठकको सातो उडेकै हो।

सुदुर पश्चिमका थोरैसंग मेरो सामान्य परिचय छ। त्यसैले पनि सो भेगका महानुभावहरू प्रति मेरो गहीरो रुची रहन्छ। यस प्रदेशका केही स्थानहरूको सामान्य दृश्याबलोकन गर्ने अवसर पनि पटक पटक जुरेकै हो। पुरानो स्मरण: २०१० देखि २०१७ सालभित्रको कुरा हो। म सानो छदा नुवाकोट स्थित बडा महाराजा पृथ्वी नारायण शाहको सातले दरबारमा गोश्वारा कार्यालय थियो। चक्रभक्त बडा हाकिम भन्दा मुनीको पदमा श्री जयदेव भटृ हुनुहुन्थ्यो। पछि उहाँले केही समय बडाहाकिम पनि चलाउनुभयो। हाम्रा बुबा पनि त्यहीं कार्यरत हुनुहुँदा श्री भटृका छोराहरू: आनन्ददेव, भीमदेव, अर्जुनदेव, ध्रुवदेव लगायतमा म पनि मिसिन पाउंथें।

हामी जो छौं, अझै पनि दाजुभाईको मायामा लटपटिएकै छौं। पद्मोदयमा पढ्दाका साथी गंगादत्त अवस्थीलाई सभिmरहेको छु। त्रि.वि.मा काम गर्दा डा.हरिदत्त लेखक, दिलेन्द्र बढु तथा विज्ञान शिक्षामा काम गर्दा अम्बादत्त पाण्डे लगायत शिक्षा मन्त्रालयमा डा.लवदेव अवस्थी जस्ता केही महानुभावहरूसंग संगत गर्न पाउँदा मेरो सुदुर पश्चिमसंगको सम्बन्ध अझै उन्नत भएको ठानेको छु। झन जोशी परिवारसँग हामी नजिकमा जोडिए पछि पूर्वपश्चिमको सम्बन्ध प्रगाढ रुपमा एकिकृत भएकै हो। अझै समुदाय भित्रै बोहरा, चटौत, रावल, चन्द, भण्डारी, साउद, मल्ल, जोशी, पाण्डे आदि परिवारहरूसंगको संगत हिजो आज बाक्लिएकै छ।

यस पुस्तकले मलाई सम्झाओस् भनेर तख्तामा सिधै आँखा पर्ने गरेर राखेको हुँ । तर पनि, फुर्सदमा पढने हो भनेर ठुलो आकारको कारण ध्यान नै नदिइएको रहेछु । फुर्सतै भनेर सरक्क समय छुट्याउन त खोइ कसले पो सक्ला र? २०७९ फागुनमा आमाको देहावसानले दु:खीत हुन पुगे पछि हो कि क्या हो अब त आध्यात्मिक किताबमा पनि रुची बढन थाल्यो। झण्डै त्यसै समयदेखि होला सत्यसाई बाबाको अंङ्ग्रेजीमा रहेका किताबहरू नेपालीमा अनुवादको काम हुन थाल्यो, जसमा साथीहरूसंग म पनि सम्पादन कार्यमा मिसिन पुगें। ती किताबहरूमा पनि प्रशंगबस भागवद गीताका धेरै कुराहरू आउंछन् नै ।
जब यस किताब पहिलो पल्ट पल्टाएं, तब अनुष्टुप छन्दका कविता त पुरै हार भरीएका हुंदैनन्, हरेक दुई हार पछि एक हारमा त पदको संख्या मात्र लेखिएको रहेछ भने, १३०० भन्दा बढी पृष्ठ छन् तापनि खासमा झण्डै एक तिहाइ त कम हुन्छ नि, पढन त सकिन्छ भनेर हृदयले साथ दिए तापनि लामो समय लगाएर यसलाई बाचन गरेर सकें। तब, यस पुस्तक पढिसके पछि मनमा लागेका सामान्य धारणाहरू संक्षिप्तमा व्यक्त गर्न चाहेको हुँ ।
लेखक स्वयं अनगिनत किताब लेखिसक्नु भएका सिद्धहस्त व्यक्ति हुनुहुँदो रहेछ। उहाँमा पढाईको लगन भरपुर देखिन्छ। भारतमा संस्कृतबाट सुरु भएको पढाई, अङ्ग्रेजी साहित्यमा स्नातक, राजनीति शास्त्रमा स्नातकोत्तर र कानूनमा पनि स्नातक गरेर मात्र टुङ्गिएको रहेछ। शिक्षा क्षेत्रमा विद्यालयमा शिक्षण, विद्यालय तथा कलेज स्थापना र सञ्चालन समेत गरेको देख्दा शिक्षा क्षेत्रमै अत्यन्त ठुलो रुची उहाँमा पाइयो। धेरै संग्रह निकाली सक्नुभएका सर्जगको प्रभास नीति संहिता किताब त कक्षा ८ र ९ को पाठ्यक्रमा ऐच्छिक रुपमा समावेश भएको रहेछ। लेखन क्षेत्र नियाल्दा कविता, कथामा मात्र हैन उहाँमा अनुसन्धानमा पनि उत्तिकै प्रखरता देखिन्छ। डोट्याली बृहद शब्दकोष र यो ग्रन्थनै यसको प्रमाण छदैछ। सेवाको हकमा सरकारी निकायमा भूमि सुधार अधिकारी, प्रमुख जिल्ला अधिकारी हुँदै का.मु.सचिबको जिम्मेवारीमा पुगेको हुँदा देशकाल परिस्थितिको ज्ञाता उहाँलाई मान्न सकिन्छ। अन्तत: उहाँमा आध्यात्मिकता भावमै जोडिएको रहेछ। तसर्थ, मलाई लाग्यो म न त उहाँको बारेमा केही लेख्न सक्छु, न त यो पुस्तकको बारेमै। केबल एउटा पुस्तकालय प्रेमीको हैसियतले आफूले पढेका र आम जनमानसलाई उपयोगी हुने पुस्तक अथवा लेखहरू छन् भने थोरै टिप्पणी समेत राखी सम्प्रेशण गर्ने बानी भएकोले, सोको निर्वाह मात्र गर्न खोजेको हूँ । यस धृष्टताको लागि सर्वप्रथम सर्जकसमक्ष क्षमा माग्दछु। हाल आएर थाहा भयो उहाँका छोरा डा.चन्द्रप्रकाश चटौत र मेरा भाई डा.दिनेश विनोद पोखरेल सहपाठी रहेछन्।

पुस्तक पढ्दा काठमाडौं तिर त्यति सारो नचलेका हिन्दीका नदनदी वा लबालब जस्ता शब्दहरू भरपुर प्रयोग भएका देखिन्छन्, जुन पढदा अर्कै रमाइलोपना पाइन्छ। ठाउँ ठाउँमा संस्कृतका केही शब्द, पश्चिम नेपालका केही र दुर्बीज जस्ता क्लिष्ट शब्दहरू पनि रहेका छन्। तर बुझिन्छन् नै। उहाँका किताबहरूका बारेमा सटिक टिप्पणी दिनेहरूमा डायमन शम्शेर राणा, इन्द्रबहादुर राई, प्रा.माधब प्रसाद पोखरेल, प्रा.चुडामणि बन्धु, प्रा.बालकृष्ण पोखरेल, प्रा.आनन्ददेव भटृ, डा.देवीप्रसाद ओझा, इश्वर बल्लभ, जयदेव भटृराई जस्ता घाघडान साहित्यिक व्यक्तित्वहरू एवं नै प्रकाशनको नाम देख्दानै यो महाकाव्य कुन स्तरको हो भनेर जो कोहीले लख काट्न सक्छन्।

भगवद्गीता धर्म वा आध्यात्मिक कुराहरूको संग्रह मात्र भनि ठान्नु गलत हुन्छ। यो त हाम्रा जीवन सञ्चालनको पद्धति हो। यदि हामीले राम्ररी यसको गुह्य बुझ्यौं र पद अनुकुलको व्यहार गर्‍यौं भने पशु र मानिसमा रहने भेद सिकेर हामी मानव बन्न सक्छौं। झटृ हेर्दा, श्री कृष्णले अर्जुनलाई रणक्षेत्रमा दिएको व्यावहारिक ज्ञान हो गीता। यथार्थमा, हाम्रो दैनिकीमा यो अति उपयोगी छ। यस ग्रन्थबाट के मात्र सिक्न सकिन्न र? धर्म अधर्म, आदर अनादर, गर्न हुने गर्न नहुने, प्रेम वा घृणा, मित्र अथवा शत्रु, म वा ऊ, जस्ता कुराहरूको सही रुपमा भेद गीताबाट प्राप्त हुन्छ।

सत्यको जित हुन्छ भन्नासाथ असत्यलाई साथ दिनुहुन्न भन्ने ज्ञान हासिल गर्न सकिन्छ। म र मेरो रहुञ्जेल लोभ मोह भय वा चिन्ता रहन्छ। मेरो सम्पूर्ण अर्पण भनेर त्याग्न सकेमा केको भय केको चिन्ता? जसरी ईश्वर देखिन्न, त्यसैगरी आत्मा देखिन्न। उक्त ईश्वरीय अंशरुपी आत्मा अजर छ अमर छ भनेर मान्नासाथ म पनि अमर छु भन्ने बोध हुन्छ। प्रकृतिको रचना यो संसार हिजो म नहुँदा पनि थियो, आज म हुँदा पनि छ र भोली म नरहदा पनि रहन्छ नै। त्यसैले ‘म’ के हुँ र? समुद्रको पानीको एउटा टिप्न नसक्ने सानो बँुदा जस्तो सम्म पनि हैन। यत्ति कुरामात्र बुझ्न सक्दा पनि बेधर्मी पथमा मानिस लाग्दै लाग्दैन। चौरासी लाख जुनिमा मानिसको जुनीमात्र यस्तो हो, जसमा मानिसले आफ्नो बारेमा: म को हुँ? किन यस संसारमा आए? मेरो कर्तव्य के हो? मैले आफैंलाई कसरी चिन्ने? मुक्तिको बाटो के हो?… जस्ता आत्मबोध गर्न सक्ने अवस्था रहन्छ। क्षण भङ्गुर त्यसै भनिएको हैन नि। २०८२ भाद्र अन्तकै कुरा गरांै। हिजो सम्म म यत्रो नेता भनिठान्नेहरू चौबिस घण्टा पनि नबित्दै जाबो नाबालकहरूको आन्दोलनलाई उचित ढंगले सम्बोधन गर्न नसक्दा, घर सरसम्पत्ती सबै खरानी भई सडकमा आइपुग्नु भनेको के हो? के रहेछ छ त जिन्दगी! एकै छिनमा मानिस करोड पति बन्न सक्ने वा त्यस्तै समयमा करोडबाट भिखारीमा रुपान्तरण हुने, जे पनि हुन सक्दो रहेछ त। गीताले सिकाएको पाठ भनेको ज्ञान र विवेकलेयुक्त मानिसले बुझ्नु पर्ने कुराहरू हुन्। पञ्च तत्व, त्यसैबाट हामी उत्पत्तिन्छौ र त्यसैमा हामी विलिन हुन्छौं भन्ने हो। लोभ लालच, घमण्ड, आडम्बर आदि ‘म’पनाबाट अलग्गीएर माथिबाट आफूलाई हेर्नु र चिन्न सक्नु पनि हो। कर्तव्य गरि रहदा पनि जाग्रत रहन सक्नु, ईश्वर वा प्रकृतिलाई मान्नु, त्यसैमा आफूलाई सम्पूर्ण गर्नु र शरणागतीमा जानु मै मानिसको कल्याण छ भनेर पढेका हैनौं र? गीता पढी रहदा ज्ञान, बल, धन र सीपको हिसाबमा मानिसलाई अनुभवी गराउन सकेमा एक अर्काका उन्नतीका पुरक बन्न सक्छन् भन्ने गहीरो भावना राखी दरिलो सामाजिक व्यवस्थाको लागि उचित कार्य विभाजन होस् भनेर ब्राह्मण, क्षेत्री, बैश्य र शूद्ररुपी वर्ण बिभाजन गरेको स्पष्ट देखिन्छ। तर हामीले त्यसलाई ठुलो र सानोको भेदमा लगेर समापन गर्‍यौं।

अर्थात् ब्राह्मण सर्बोपरी वा ज्ञाता, क्षत्री सुरवीर उसले जे जसलाई दबाएर थिचोमिचो गर्न हुने, बैश्य र शुद्र थिचिने र किचिने समुहमा पार्दै आयौं र गीताको ज्ञानलाई अपभ्रंश गर्‍यौं। एउटै शरीरको चार अङ्ग भनिएको थियो, हामीले त त्यसलाई टुक्राटुक्रा पारिदियौं। अब थोरै महाकाव्य भित्रै पसेर यसो रसास्वादन गरौं। अत्यन्त सरल भाषमा गायन लयमा अर्थात् छन्दमा हलुका तवरले तर ह्ृदयमा छुने गरी फांकीहरू सररर लेखिएका छन्। सबैजसो दुई दुईहरफका पद्यमा छन्। केहीलाई यसो नियालौं: आत्मा, बुद्धि, मन एवं इन्द्रिय बारेमा यस्तो भनिएको छ– ‘इन्द्रिय श्रेष्ठ हुन् भन्छन् ती भन्दा श्रेष्ठ हो मन, मन भन्दा बडो बुद्धि हो आत्मा सर्व–उत्तम’ (पृ.१२१)। जे जुन रुपमा भजे पनि भगवान एकै हुन् भनेर– ‘भज्दा विष्णु म हूं विष्णु राम भज्दा म राम हुं, कृष्ण भज्दा म कृष्णै हुं शिव भज्दा शिवै म हुँ’(१३९), ‘जुन परंब्रह्मले सारा कर्ता कर्म विधि: रच्यो, ओम तत् सत् उसैका हुन् नाम त्रय ब्रह्माण्डको’ (११०१)लेखिएको छ। ब्रह्ममा पुग्ने, निर्वाण हुने वा मुक्त हुने भनेको के हो भनेर बुझ्न– ‘जहाँ पुगेर योगी ती फर्कनन् यस लेकमा, निर्वाण ब्रह्मनै त्यै हो अक्षय सु:ख जीवमा’(१७६) उल्लेख भएको छ। देवता वा मानवमा ब्रह्म एकैछन् भन्ने पुष्टिगर्न– ‘दीपक र प्रकाशैमा जसरी ऐक्य भाव छ, ममा र भक्तमा पार्थ! लुकेको सम भाव छ’(२४०), ‘बीजमा वटबृक्षै छ वटामा बीज तद्वत, बीज हो बृक्ष आफंै नै वृक्ष हो बीज नै स्वत:’(४६३) भनिएको छ। गुरुको माध्यमबाट ईश्वरमा शरणागती वा समर्पण विना ज्ञान प्राप्त हुंदैन, अध्यात्मको गहिराइमा डुब्न पाइन्न, यस भवसागर पार गरेर पुन: फर्केर चौरासीलाख जुनिमा भौंतारिइरहन नपर्ने तहमा पुग्न सकिन्न भनेर बुझ्न– ‘शरणागत बाहेक जान्दैनन् अरुले म को?, बुझ्ने सामथ्र्य राख्दैन लोकले गूढ–तत्व त्यो’, ‘ब्रह्मलोकी समेतैले फर्की आउनुपर्दछ, ममा पुग्न सके मात्र जन्म र मृत्यु टर्दछ’ (२९०)को भावार्थ बुझे पुग्छ होला। सद्गुरु विना ज्ञान प्राप्त गर्न सकिंदैन, गुरुको प्रेरणा, घच्घटाहट तथा उत्साहबाटै यो महाकाव्यको सृजना भयो भन्ने बारेमा धेरै स्थानमा थुप्रै बाकी छन् दुइवटा पढौं– ‘नेपाली स्निग्ध–भाषामा लेख्न योग्य महुं कहां, कृपाकै भरमा मात्रै लागेको यस मार्गमा’(३६१), ‘यथार्थमा बुझौं तस्मात् मलाई गुरु देवले, निमित्त मात्र राखेर प्रवन्ध रचना गरे’(१३२३) भनेर उल्लेख भएको छ। कर्म अनुसारको फल भोग्नै पर्छ भन्दै सत्व, रज र तमको बारेमा ‘उत्तम मध्यम एवं निकृष्ट मार्ग नीत यी, खुला रहन्छ हे पार्थ! कर्मानुसारका गति ’(११९१) लेखिएको छ। काव्यकारले त्यस्तै गरी गीताको साररुपमा ‘प्राणी वा जीवमात्रैमा हुनु ईश्वर दर्शन, त्यही सन्देश गीताको सार–दर्पण’(१२९८) भन्दै आफ्नो देश नेपाललाई पनि ‘जन्मभूमि त्यही नै हो समस्त शास्त्र–तत्वको, उपनिषद् त्यहीं जन्मे स्थल जो वेद मूलको’ भनेर व्याखा गर्नु भएको छ।
पुस्तक पढिसकेपछि थोरै समालोचना गर्न मन पनि लाग्ने रहेछ।

दुई हरफ संस्कृतको सुत्रको व्याख्या दुई हरफे ५६ फांकीमा गरिएको छ (पृ.४५८–६१)। त्यो भन्दा धेरै पनि होलान्, झटृ भेटिएको एउटा यसो गनिएको मात्र हो। कति उदाहरण, उपमा आदि दिएर हर सम्भब साधारणले पनि सजिलै बुझुन् भनेर अत्यन्त प्रयास गरिएको छ। दुई हरफको दुई हरफे चार पांच फांकीमा लेखिएको भए म जस्ता अल्छी पाठकलाई पुस्तक पल्टाउन छिटृै जांगर चल्थ्यो कि भन्ने चांही लाग्छ। पुस्तकको गहिराई भन्दा स्वरुपले डर लगाई दियो। अर्थात् कहिले पढेर सक्ने भन्ने लाग्यो? यस्तो धेरैलाई हुन सक्छ होला।

अन्तमा, गुरुको असीम आशिर्वाद् र प्रेरणा तथा आफैं भित्र रहेको आध्यात्मिकताको जोड बल बिना यस्ता ग्रन्थको प्रादुर्भाव हुनै सक्दैन। आर.डी. स्वयंले आध्यात्मिकताको बारेमा लेख्दै जांदा स्वत: भावमा मज्जाले डुबुल्की मारिने रहेछ एवं लेखिइरहिने हुंदो रहेछ भनेर धेरै पटक भन्नु भएकै छ। आध्यात्मिक श्री प्रभासलाई गुरु मार्फत् ईश्वरको ठुलो कृपा भएको कारणले नै यो महाकाव्यको सिर्जना हुन सकेको कुरामा दुइमत हुन सक्दैन। यस पछि पनि उहांका प्रकाशनहरू आइसकेका होलान् भन्दै अब पनि निरन्तर थप सिर्जना नेपालीले पाइरहुन् भन्ने कामना गरेको छु। अत: पुस्तक पढन बांकी हुनेहरूलाई पढनु हुन विनम्र अनुरोध गर्दछु ।