skip this काठमाण्डौं महानगरपालिका ११

हर्क साम्पाङले राजनीतिक दल दर्ताका लागि निवेदन दर्ता गरे

 

 

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् ।

‘श्रम संस्कृति पार्टी’ नामको दल दर्ताका लागि उनले यही असोज ७ गते आयोगमा निवदेन दर्ता गराएको आयोग उच्च स्रोतले जनाएको छ । उनी आफैँ अध्यक्ष रहने गरी दल दर्ताको निवेदन पेश भएको स्रोतको भनाइ छ ।

यस्तै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले पनि आफू संयोजक रहने गरी नेपाल नागरिक पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका छन् । भण्डारीले यही असोज ९ गते आयोगमा निवेदन दिएका हुन् ।

चालू आर्थिक वर्षको सुरूमा उज्यालो नेपाल पार्टी दर्ताका लागि पनि निवेदन दर्ता भइसकेको छ । गत साउन २७ मा उक्त दल दर्ताका लागि आयोगमा निवदेन परेको हो ।

 

चालू आर्थिक वर्षमा दल दर्ताका लागि निवेदन परेका ३ वटा निवेदनमाथि अहिले जाँचबुझ भइरहेको आयोगले जनाएको छ । आएका निवेदनमाथि राजनीतिक दल दर्ता सम्बन्धी ऐन तथा नियमावली अनुसार आवश्यक प्रमाण पुगे/नपुगेको आयोगले अध्ययन गरिरहेको छ ।

आयोगले प्रमाण नपुगेको, विवरण सच्याउनुपर्ने भए सुधार तथा परिमार्जनका लागि सम्बन्धित दल दर्ताका लागि निवेदन दिनेलाई पत्राचार गर्नेछ । प्रक्रिया पूरा गरेर निवेदन पेश भएको भए दल दर्ता गर्नेछ । निवेदन दिएको ४५ दिनभित्र आयोगले दल दर्ता गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।