कारोबारको सुरुवातमा एक सय भन्दा धेरै अङ्क बढेर सकारात्मक सर्किट लागेको सेयर बजार २२ अङ्कमा बन्द भएको छ । साताको अन्तिम कारोबार दिन बजार परिसूचक २२.५९ अङ्कले बढेर २५८२.१८ अङ्कमा सीमित भएको हो । बजारमा आज ५ अर्ब २७ करोडको कारोबार भयो ।
बजारमा आज २०० वटा कम्पनीको सेयर मूल्य बढेको छ । ४१ वटाको मूल्य घट्दा बाँकी १० वटा कम्पनीको मूल्य स्थिर रहेको देखिन्छ । बजारमा आज ट्रेडिङ समूहमा १.४८ प्रतिशत मूल्य घट्नु बाहेक अन्य समूहका सूचक बढेका छन् । बैंकिङ लगायत अधिकांश समूहमा १ प्रतिशत भन्दा धेरैको वृद्धि भएको छ ।
बजारमा आज विन्धवासिनी हाइड्रोपावरको मूल्य सर्वाधिक ८.२१ ले बढ्नु र थ्रिस्टार हाइड्रोपावरको ९.०९ प्रतिशतले घट्नुबाहेक उल्लेख्य घटबढ देखिएन । आज बजारमा शिवम् सिमेन्ट र युनियन हाइड्रोपावरको समान २७ करोडको कारोबार भयो ।
अर्थ मन्त्रालयले गठन गरेको पुँजी बजार सुधारसम्बन्धी समितिको प्रतिवेदन कार्यान्वयनको निर्देशनसँगै बजारमा सुधार देखिएको हो । उक्त सुझाव बमोजिम नेपाल राष्ट्र बैंकले बुधबार नै सेयर कर्जामा लगाएको २५ करोडको सीमा हटाएको छ । सुरुमा यो विषयले प्रभाव पारे पनि पहिलो सर्किटपछि बजार फर्किएको थियो ।
यो साता बजारमा ३ दिन कारोबार भयो । यो अवधिमा बजार ७८ अङ्कले घटेको देखिन्छ ।


















