के कुन विषयमा लेख्ने भन्ने खोजी त हुन्छ नै। आज जहां बसिएको छ सोही सेरोफेरोको बारेमा टिप्पणी गर्न मनलाग्यो। कुन स्थान राम्रो, के कुराले राम्रो त्यो भने आंकडा, भौतिक सुविधा, रहनसहन लगायतका विविध विधाले छुटृयाउने हो, त्यो काम म जस्ताले किन गर्नु, अनुसन्धानदाताकै जिम्मामा छोडौं। पुरानो बानेश्वर स्थित हात्तिगौंडा छाडेर इमाडोल आउंदा अत्यन्त टाढा लागेको स्थान अहिले प्रिय बन्न थालेको आभसलाई पछ्याउंदै, अहिलेलाई ललितपुरको महालक्ष्मी नगरपालिकाहाताका लुभु, सानोगाउं, टिकाथली, चांगाथली, लामाटार एवं बासथलो हरित थुम्को, इमाडोल सेरोफेरोको बारेमा चर्चा गर्ने जमर्को गर्दै छु।
लेखोट सुरुगर्नु अघि दुई जनासंग यस भेगको बारेमा केही जानकारी संगाल्ने काम गरियो। पहिलो, असी बसन्त पारगर्नु भएका एक व्यक्ति, जो विष्णुडोल, लुभुमा जन्मिएर लुभुमा प्राथमिक अध्ययन पश्चात् सो माथिको पढाई त्यहां नरहेकोले माध्यमिक तहको पढाइको लागि पाटनको त्रिपद्म विद्यालय पुग्नु परेको कुरा सभ्झंदै कलेज वा विश्वविद्यालयको पढाइको लागि त पाटन र काठमाडौं जानुको बिकल्पै नभएको स्मरण गर्ने व्यक्ति, आफ्नो अध्ययन पश्चात् सरकारी निकायमा विभिन्न कार्यालयमा लामो समय विताएर, अनुभवले खारिएको सक्रिय जेष्ठ नागरिक, श्री दुर्गाप्रसाद पोखरेल हुुनुहुन्छ। त्यस्तै अर्का व्यक्ति सिन्धुपाल्चोकमा जन्मिएको, केहीवर्ष नेपाली सेनामा काम गरेर विचैमा छोडेको र पछि भू.पू.सैनिक सुरक्षा कम्पनीमा काम गर्दा गर्दै यसै थुम्कोमा सुरक्षा कर्मीकोरुपमा एकचौथाई शताब्दीदेखी कार्यरत ६० वर्षे श्री भक्तबहादुर पण्डित हुनुहुन्छ। उहांहरूसंग छुटृाछुटृै बेतोड गफ गरिएको थियो। हिंड्दा डुल्दाको आफ्नो अनुभव तथा उहांहरूको कुराकानीको चुरो समेत् जोडेर यो आलेख तयार गरिएको छ।
हरित थुम्को अर्थात् निर्माण कम्पनीले दिएको नाम ‘ग्रिनहिल सिटी’ इमाडोलको बारेमा कुरा सुरु गरौं। पैंतालिस रोपनी क्षेत्रफलमा फैलिएको तीनहारको ९६ घरधुरीको यो एउटा सानो गाउं ग्वार्को–लांकुरी भञ्ज्याङ सडकमा ग्वार्को विन्दुबाट २.४ किलोमिटर पूर्व कमलपोखरी र कोजी होम विन्दु देखि पनि थोरै पूर्व तथा सानोगाउं तर्फबाट आउनेका लागि गोलभटृाको विन्दुबाट थोरै पश्चिममा मुलसडकको दक्षिणतर्फ उचालिएको भुभागमा सुसोभित भएर रहेको छ। पहिले यो स्थान समेत्को ५७ रोपनी जग्गा ९ करोडमा तिवेतीयन मुलका बुद्धधर्मावलीहरूले किनेर बुद्ध सम्बन्धी अध्ययन अध्यापन गराउंदै आएको थलो रहेछ। किन सो बन्द भयो भन्ने कुरा खुलेको छैन। यिनै बुद्धधर्मावलीहरूबाट उक्त जग्गा रिपब्लिका छापाखानाले ३० करोडमा किनेको भनिन्छ। ततपश्चात् साठीको उत्तरार्धमा ४५ रोपनी जग्गा ग्रिनहिल सिटीलाई बेचेको हुनुपर्छ र बैशाख २०७३ देखि हाल हामी बसेका भवनहरूको निर्माण सुरु भयो भनिएको छ। ‘डाउन टाउन’ आवास बन्नु अघि सत्तरीसाल तिर यो वरिपरिको जग्गाको मूल्य प्रति आना साढे दुईलाख थियो रे। यो एक दशकमा कहांको कहां पुग्यो? मूल सडकमा त आनाको करोडमै विक्री भएको सुनियो, भित्रै पनि असीलाख भनेकाछन्, तर तिरेर कसैले किनेको भने थाहा भएको छैन।
पुराना कुरा सम्झंदानै रमाइलो लाग्छ। त्यस्तो पनि थियो र? आफ्नै मनमा समेत् आउंछ। ०३५/०३६मा ईंट लिन आफैं धाएको ग्वार्को पूर्वका सबै खेत पाखो अहिले कहां गयो? २०३५ को चैत्रमै अग्रिम भुक्तानी दिएमा २०३६ को फागुन चैत्रमा एकहजार ईंटाको रु.१६८।मा पाइने भनियो र आफूले ३६००० ईंटाको लागि रु.६०००। एकमुष्ट पेश्की दिएको टिपोट अझै मसंग रहेछ। तर ती ईंटा भने हाल चलनचल्तीमा रहेको भन्दा पातलो खालको साना आकारका थिए। चालिसको सुरु देखि हाम्री ठूलीआमाको परिवार बोझेपोखरी नजिक घर बनाएर बसे पछि यता आउनेक्रम थोरै बढेको हो। पूर्व दक्षिण अग्लींदै गएको कान्ला कान्ला र पश्चिम उत्तर अलिक टेढोमेडो समथर बोझेपोखरी सानो भागमा मात्र धापिलो थियो, अर्थात थोरै मात्र पानी रहेको तर पोखरीको आकारमा भने छंदै थियो। चालिसको दशकमा, भाई वा त्यहींका कसैले कुनै कुनामा यसो सानो ठोसो भांचेर ल बोझो भनेर दिएको र कलिलो बोझो चपाउंदै हिंडेको कुरा आजका पीढीले के पत्याउलान् र? हाल तीनवर्ष अघिदेखि त सक्रिय युवाको तत्वावधानमा चारैतर्फ राम्रो घेराबन्दी गरेर, पानी भरी पोखरीलाई गज्जबसंग जिवित गरिएको छ र यस नगरपालिकाको एउटा उल्लेख्य स्थान बनेको छ। ती अभियन्ताहरूलाई धन्यबाद छ! पोखरी हाताको कुनै छेउमा भएपनि बोझो रोपेर बोझे पोखरीमा आत्मा भर्न म ती उत्प्रेरकहरूलाई आग्रह गर्दछु।
नेपालकै पहिलो कृष्णप्रणामी मन्दिरमा ठूलो समारोह गरेको सायद साठीमै होला, हामी पनि एकाध पटक दर्शनार्थी हुन आएका थियौं। त्यसबखत यस कृष्ण मन्दिरसम्म ठूलो चौडा सडक थियो भने त्यस पूर्व दक्षिणका सडकहरू भने साना थिए। साठी देखिनै होला साढभाईको मारुती चढेर सिस्नेरीमा उनको फूपुकहां आउने जानेमा हामी पनि मिसिन्थ्यौं। सानो एउटा साधन गुडने कालोपत्रे सडक पनि दायांबायां कोतरिएका थिए र एउटा अर्को साधन आंउदा कुन बिचमा रहने र कसले घत्राक्क गरेर दायांबायां सर्ने भनेर जोखाना हेर्नु पथ्र्यो। यस वखतसम्म कृष्ण मन्दिर सिधै पूर्वको सडक किनारमा थोरै अघिसम्म लहरै केही घर थिए। यता भद्रकाली पेट्रोल पम्प तर्फ भने सडकमै जोडिएका घरहरू थिएनन्। अर्थात् ग्रामिण परिवेशका स साना घरहरू दायांबायां भने थिए।
ग्रिनहिल संगैको हाल डाउन टाउन आवास भएको क्षेत्र र सो नजिको माटो ईंटाको लागि राम्रो भएर होला बेचिन्थ्यो रे। उसै त सो भूभाग ठैबदेखि उत्तर बग्ने पानी ढलोनै हो, त्यसमाथी माटो कटानले राम्रै गहिरिएको रहेछ। गएको ७७ र ७८ सालको वर्षामा डाउन टाउन पूर्वको भूभाग ंंकति दिनसम्म जलाशय बनेको हामीले देखेकै हौं। अर्थात् ग्वार्को–लामाटार सडक विस्तार हुंदा पानी निकासको लागि गोलभटृा विन्दुमा एउटामात्र ढल राखिएको रहेछ र त्यसमा पानी नअटने भई तलाउ बन्दो रहेछ। हुन त प्राविधिक विषय हो, तापनि तेत्रै ढल कम्तिमा ३ वटा राख्नु पर्ने जस्तो देखियो।
हामीबिच कुराकानीको दौरानमा केही थप विधामा छलफल चल्यो। २०१५ साल सम्म लुभु वा यो भेगमा प्राथमिक विद्यालय मात्र थियो। त्यो भन्दा वढीको अध्ययनको लागि आदर्श कन्या निकेतन, पाटन विद्यालय वा त्रिपद्म विद्याश्रम पुग्नुपर्ने हुन्थ्यो। लुभु, सिस्नेरी, लामाटार, ढुङ्गेन, चांगाथली आदिबाट यातायातको साधन विना लामो पदयात्रा गरेर पढन जानु कठिन थियो। वर्षामा हिलो र हिउंदमा धुलोमा लटपटिएर आवत जावत गर्नु पर्ने समयमा जुत्ता र किताब हातमा थाम्दै, घाममा हापिंदै, पानीमा रुझ्दै हिंड्ने र पाटन सुन्धारामा गोडा धोएर विद्यालय पस्नु पर्ने अवस्था थियो। सक्ने केही त कुपण्डोल आदि स्थानमा डेरा गरेर पनि पढन बस्थे। पछि २० को दशकमा मात्र यस भेगमा पूर्णचण्डी विद्यालय माध्यमिक भएको हो रे। संगसंगै जसो टिकाथलीमा महेन्द्र आदर्श विद्यालय तथा सानोगाउंमा शिद्धिमङ्गल विद्यालयहरूले आ–आफ्ना स्थान लिंदै आएका छन्।
पिउने पानीको श्रोत भनेको यो भेगमा इनार र कुवाहरूनै थिए। स्वास्थ र सरसफाइमा सचेतना थिएन। बाटोको किनारमै दिशा पिसावको चलन थियो। सोको कारण यहांका बासिन्दा बेलाबेलामा हैजा, दादुरा, विफर आदिका सिकार भइरहन्थे। सरकारी धारा अर्थात् पाइपद्वारा जमिन मुनीको पानी तानेर वितरण हुन थालेको त ५०को दशकको उत्तरार्ध देखि मात्र हो। पछि आएर गोदावरी खोलाको पानी प्रशोधन गरेर यही प्रणालीमा थपिएको छ।
स्वास्थ्य सेवाको कुरा गर्दा पहिले त नेवार समुदायका वैद्यराजलेनै औषधीमूलो र चिरफार आदि गर्ने गर्थे। अलिक पछि कम्पाउण्डरबाट रोगनिदान गरेर औषधी दिने प्रचलन आएको हो। सामान्य बिरामी त स्थानीय तवरमै टथ्र्यो। सवारी साधनको अभावमा अलि जटिल अवस्थाका बिरामीलाई उलिनकाठ, डोको वा स्थानीय तवरमै निर्मित स्टेचरमा बोकाएर पाटनको शान्तभवन अस्पताल पुर्याउनुको विकल्प थिएन। पछि ५० को दशक देखिमात्र यो भेगमा स्वास्थ्य चौकी संचालनमा आएको हो भनिन्छ। अहिले त सानोगाउंमा थसी सामुदायिक अस्पतालनै संचालनमा छ।
खेती बाहेक अन्य व्यवसायको हकमा नेवार समुदायका साहुहरूद्वारा सामान्य व्यापार सञ्चालन गर्ने त परंपरा देखि चलिआएकै रिती हो। लुभुका साहुहरूले रसियन जीपमा सामान ओसार पसार गर्थे र साहुका वा उनका आफन्तका एकाध मोटरहरू कहिले कांही ओहर दोहर हुन्थ्यो। अहिलेको जस्तो यातायात साधनको सुविधा त्यसबखत कहां पाउनु? व्यापारको अतिरिक्त कपडा बुन्ने तानहरू र पराले सुकुल उद्योगमा लुभु, लामाटार, सानोगाउं उपत्यकामै ख्याती कमाएका स्थानहरू हुन्। यस्तो कि राती अबेर सम्म कपडा बुन्ने तानको ट्याङ्ग्राङ, टुङ्ग्रुङ सुन्नै पथ्र्यो।
यो भेगका व्यक्तिहरू सेना, प्रहरी अथवा निजामतीमा न्यून तहहरूमा त थुप्रै कार्यरत हुन्थे। कोही कोही अलि माथिल्लो तहसम्म पनि पुगे। हास्य कलाकार किरण केसीका बुबा सेनामा कर्णेल हुंदा उनको सान सौकत राम्रै थियो। सामान्यत सबैको बाच्ने आधार वा पेशा भनेको कृषिनै थियो। बारी र खेतका मूख्य बाली भने मकै, कोदो, भटमास, धान र गहूंनै हुन्।
कृष्ण प्रणामी मन्दिर पूर्व–दक्षिण एवं राजकुलोको पश्चिमको भूभागलाई पहिले मटृार भनिन्थ्यो। यसको नाम चुरिया फांट पनि थियो, जहां बस्तुभाउ चराउने, भाङ खाने आदि हुने गथ्र्यो। अर्थात् यो स्थान अलि कुख्यात थियो। यो टारी भूभागमा खासगरी खस क्षेत्री समुदायको रहन सहन रहेको र स–साना जग्गाको अनाजले वर्ष धानिंदैन थियो। सिमखेतहरू पाटनका साहुहरूका हुन्थे। बाली उत्पादन लुटने, चोर्ने एवं जुवा तास कौडा खेलाउने कामहरू यहां हुने गथ्र्यो। तास वा कौडामा ४ जना स्थानीय मिल्ने र २/४ जना बाहिरकाको रकम लुंड्याउने हुन्थ्यो अरे। हालको शान्त यस स्थानमा रहेका हामीलाई अन्यत्रका साथीभाईले जिस्काएर अहिले पनि ए मटृारे! भन्ने गर्छन्। गज्ज्ब छ, एकजमानाको (कु)ख्याती सधैंको (कु)ख्याती!
सातसाल पछि सडक बढन थालेको समयमै, बाह्र तेह््र सालमै पाटन, सिस्नेरी हुंदै पूर्व काभ्रे जोडने सडकको रेखांकन भएको हो भनिन्छ। तर यसले उचित गती लिन भने लामो समय कुुर्नु परेको यथार्तता अझै झल्कन्छ। ढुङ्गेनबाट उकालो लाग्दा कतिपय स्थानमा दुइवटा साधन अटन सक्दैनन्, घुम्ती स–साना छन्। जनतालाई सुलभ तथा सुविधायुक्त यातायात सेवा पुगोस् भन्ने चाहना राखेर यदि साझा जस्ता संस्थाले सवारी साधन चलाउन चाहेपनि मोड पुग्ने अवस्था छैन। अझै पनि यही महालक्ष्मी नगरपालिकाको वडा १० लांकुरी भञ्ज्याङ पुग्न दुई किलोमिटर जति सडक कालोपत्रे भएको छैन। झनै ०८१को वर्षाले बिगारेको यो खण्डमा हलुका मोटर चल्न ज्यादै कठिन छ।
नेपालको काठमाडौं उपत्यकाको प्राय भूभाग मन्दिरै मन्दिरले भरिएको छ भन्ने तथ्यमा त दुइमत हुनै सक्दैन। तब यस महालक्ष्मी नगरपालिकाको पनि चर्चा त भइहाल्छ। पलिकाको नामै अक्षयत्रृतीयामा साताव्यापी जात्रा हुने लुभुमा रहेको प्रशिद्ध महालक्ष्मी–आकाश भैरब मन्दिरबाट बनेको छ। ग्वार्को देखिनै विचरण गरि हेरौं: ग्वार्कोको कर्मनासा नदी पार गरेर पूर्व तर्फ लाग्नासाथको बुद्धस्तुपले जो कोहीलाई शान्तिको सन्देश दिन्छ। सो पछि करिब एक किलोमिटर जतिमै नेपालकै पहिलो कृष्णप्रणामी मन्दिरले आध्यात्मिकताको परिचय दिन्छ, जुन यस क्षेत्रको प्रमुख धरोहर पनि हो। त्यस्तै गोगरांटेश्वर महादेव मन्दिर, ढुङ्गेन माथी रहेको विन्दवासिनी मन्दिर, ढुङ्गेसांघुमा अवस्थित मुक्तिनाथ मन्दिर तथा लांकुरी भञ्ज्यांङको निकट दक्षिण–पश्चिममा रहेको श्रृङ्गऋषिको गुफा आदिको राम्ररी उजागर गर्ने, प्रचार–प्रशार गर्ने र सकेसम्म व्यवस्थित गराउन सकेमा कम्तिमा एक दिनको आध्यात्मिक एवं पर्यापर्यटन मज्जाले सञ्चालन हुन सक्छ। जे गर्ने त आज स्थानीय सरकारले नै हो।
पानी खोला नालाको हिसाबले पनि महालक्ष्मी नगरपालीका धनीनै मान्नु पर्छ। पूर्व–दक्षिणमा लुभु खोला, उत्तरको सांध हनुमन्ते र मनहरा, बिचमा गोदावरी खोला तथा पश्चिम सांध कर्मनासा खोला रहेकाछन्। यिनले सिञ्चने अत्यन्त उर्वर, चिश्यान भएको, मटौले जमिन आदि कारणले गर्दा महालक्ष्मी नगरपालिका खेती उव्जनीको हिसाबमा परापूर्व देखि अत्यन्त अब्बल थियो, अझै रहेछ भन्नु पर्छ। आजपर्यन्त, बिहान हिंड्दा, डुल्दा जे जति टुक्राटाक्री जमिन बांकी छ, तिनमा हुंदै आएको खोती, बाली र उब्जनी देख्दा, कस्तो राम्रो रसीलो पोसिलो जमिन भनेर म त अत्यन्त लोभिन्छु। हुन पनि सम्पन्नताकी अधिपती महालक्ष्मीलेनै बास गरेको ठाउं पो हो त।
बीसको दशकको चक्रपथ निर्माण पछि विस्तारै हुन थालेको बस्ती विकासले आज यस क्षेत्रमा भयाबह रुप लिइसकेको छ। हामी असन इन्द्रचोक वा मङ्गलबजार जस्तो घना बस्तीको उदाहरण दिन्छौं, जहांका घरहरू जोडिएका हुन्छन्, घरले दिनमा कुनै समयमा एकपाटोमा घामको दर्शन पाउंछ, चार मध्ये दुइतर्फ त जोडिएकै हुन्छन्, बांकी दुइतर्फमात्र हावा चल्न सक्छ, कहिं त एकतर्फ मात्रै पनि होला, आदि। तर अब त इमाडोल जस्तो ग्रामिण आवासीय भूभागमा पनि तीन, सांढेतीन आनाका टुक्रे जग्गामा ठिक ठूला शहरका घनाबस्तीका घरहरूझैं चारपाटा मध्ये दुइपाटा ट्याप्पै जोड्ने र अग्रभाग तथा पछाडी थोरै मोटर बिसौनी र हावा सञ्चालनको लगि मापदण्ड सम्म पुरागर्न होला सकेसम्म सानो क्षेत्रफल छोड्ने गरिएका छन्। यदि मापदण्डको अंकुश नभएमा बाटो तर्फबाहेक सबैतिर जोड्न हामी हिच्किचाहट गर्दैनथ्यौं होला। सार्वजनिक आवास क्षेत्र भनेको त प्रत्येक घर वरिपरी खाली जग्गा भएको, कम्तिमा एक दुइवटा बोट विरुवा रहेको, सबै कोठामा घाम तथा हावा खेल्न पाउने स्वस्थ्यकर र स्वच्छतायूक्त बसाई हुनुपर्ने होइन र? खै त आवासीय मापदण्ड! पालीकाहरूले स्थान विशेषको मापदण्ड बनाउन पाउने हो हैन?
माथिका प्रकृतिक, सांस्कृतिक तथा सामाजिक विवरण पश्चात्, अब शीर्षकको मर्मतर्फ विचरण गरौं। नेवारी भाषाबाट नामाकरण भएको लुभूको ‘लु’ अक्षरले जीवन, उर्वरता र पवित्रता जनाउंदो रहेछ भने त्यसमा ‘भू’ अर्थात् भूमि जोडेर स्थानीयले आफ्नो बस्तीलाई जीवनदायी जलश्रोतले सुसम्पन्न उर्वर स्थान भनेका रहेछन्। अर्को अर्थमा नेवारीमा ‘लु’ को मतलब सुन र ‘भू’ को माने थाल रहेछ। पूर्खाले किन यो स्थानलाई लुभू भनेर नामाकरण गरे होलान्? यस्तो विशेष भूभाग ठानेर, मानेर, पक्कापक्की गरेर नै त सुनको थाल भने होलान्! माथिको कुरालाई बास्तविक मान्दा त असीको यस दशकमा हामीले बाध्य भएर ठूलो सुनको थालमा कंक्रिटको घरै घर वाह !!! भन्नै पर्ने भयो।























