अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच ए डिभिजन लिगको उद्घाटन खेल चैत ३० गते गर्ने सहमति भएको छ। मंगलबार भएको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले खेलाडी संघले उठाएका मागहरूमा सहमति जुटेसँगै लिग सुरु गर्ने निर्णय भएको जानकारी दिए।
यसअघि खेलाडी संघले विभिन्न माग राख्दै एन्फा मुख्यालयमा तालाबन्दी गरेको थियो। सहमतिपछि ताल्चा खोलिएको छ ।एन्फाका प्रतियोगिता निर्देशक सन्जिव मिश्रका अनुसार चैत ३० मा उद्घाटन खेल हुनेछ भने वैशाख २० गतेदेखि नियमित रूपमा लिगका खेल सञ्चालन गर्ने तयारी गरिएको छ।
२०७९ सालमा पछिल्लो पटक ए डिभिजन लिग भएको थियो र त्यसयता १००० दिनभन्दा बढी समयसम्म नयाँ सिजन सुरु हुन सकेको छैन।


















