skip this वडा नं १६ बालाजु च:मती

नेपाललाई समृद्ध बनाउने कोदारी-कुती मार्ग : हिजो र आज

नेपाललाई, खासगरी काठमाडौँ उपत्यकालाई आर्थिक रूपले सम्पन्न र वैभवशाली बनाउन कुतीको व्यापारिक मार्गले पुर्‍याएको योगदान बिर्सनै नसकिने ऐतिहासिक तथ्य हो। हिमालय पारको व्यापारका लागि सातौँ शताब्दीदेखि उन्नाइसौँ शताब्दीको अन्त्यसम्म यो मार्ग अति चलायमान थियो, जसका कारणले नेपालले श्रीवृद्धि गर्न सकेको हो। प्राचीनकालदेखिको इतिहास हेर्दा व्यापारिक मार्गहरू केवल वस्तुको व्यापार गर्ने प्रयोजनमा मात्र प्रयोग भएका थिएनन्स विचारको आदानप्रदान, संस्कृति र सभ्यताको पहचान, ज्ञान र विज्ञानको अन्वेषण, धर्म र आस्थाको प्रचारप्रसार तथा मुलुकहरूबीचको सम्पर्क जस्ता विषयहरूसँग पनि यी मार्गले सरोकार राखेको पाइन्छ। व्यापारिक मार्ग प्रयोग गरेर नै हाम्रा पुर्खाहरूले भ्रमण र अवलोकन गर्दै महत्त्वपूर्ण अनुभव हासिल गरी ग्रन्थहरू पनि तयार पारेका छन्। सुरुवातमा पशुधनका लागि उपयुक्त हुने स्थानको खोजी गर्ने क्रममा घुमन्ते जातिहरूले यस्ता मार्गहरूको पहिचान गरेका थिए र तिनै मार्गहरू कालान्तरमा व्यापारिक मार्ग बन्न पुगे। आवश्यक मार्गकै कारण केही मुलुक आर्थिक दृष्टिले सम्पन्न भए भने, यिनै मार्ग हत्याउन विवाद, सङ्घर्ष, लडाइँ-भिडाइ तथा युद्ध जस्ता गतिविधिहरू पनि भएको पाइन्छ।

हाम्रा प्राचीन धार्मिक ग्रन्थहरूमा मार्ग, महामार्ग, पथ, महापथ, रथमार्ग र हस्तीमार्ग जस्ता विभिन्न बाटाघाटाको नामकरण गरिएको पाइन्छ। तर, ती सबै मार्ग नेपाल तथा भोट बीचका मार्ग भने थिएनन्। हिमालयको कुल १,५०० माइल क्षेत्रमध्ये नेपालले ५२० माइल क्षेत्रफल ओगटेको छ। यहाँ उत्तर-दक्षिण भई बग्ने हिमनदीहरूले प्राकृतिक मार्ग बनाउन सघाउ पुर्‍याएका छन्। नेपाल र भोटबीच १८ वटा प्रमुख भन्ज्याङहरू व्यापारिक मार्गका रूपमा प्रचलित भए तापनि सबैभन्दा प्रमुख कोदारी (कुती) मार्ग नै थियो। यसका अतिरिक्त रसुवाको केरुङ, वलाङचुङगोला, मुस्ताङ, टिङ्कर, लामाबगरलगायतका नाका पनि प्रचलनमा थिए। कुती नाका खुल्नुभन्दा अगाडि भोट र चीनतर्फका यात्रीहरू हिन्दुस्तान भएर नेपाल आउने गर्दथे। प्रसिद्ध चिनियाँ यात्रीहरू फाहियान र हु एन साङ उतैबाट नेपाल प्रवेश गरेका थिए।

स्थानीयले नी लम (Nyi Lam) भनेर चिन्ने कुती भन्ज्याङ करिब १८,५०० फिटको उचाइमा रहेकाले बाह्रै महिना आवतजावत गर्न सकिन्थ्यो। इसाई पादरी ग्रुबर (Grueber) र डी ओभाइल(D’ Oville) कुतीबाट पटना ११ दिनमा पुगेका थिए भने अर्का पादरी फ्रेयर (Freyar) ४२ दिनमा काठमाडौँबाट ल्हासा पुगेका थिए। नेवार व्यापारीहरूसँग इसाई पादरीहरूको रसायन मिलेकाले उनीहरू भोट जाँदा तिनै व्यापारीसँग कुती मार्ग नै प्रयोग गर्दथे। कुती नाकाको व्यापारले नै काठमाडौँ उपत्यकालाई तत्कालीन अवस्थामा समृद्धशाली राज्य बनाएको थियो। काठमाडौँबाट कुती पुग्न सामान्यतया ६–७ दिन लाग्दथ्यो। त्यहाँ पुग्ने दुईवटा प्रमुख बाटाहरू थिए। पहिलो साँखु-चौतारा हुँदै जाने मार्ग थियो भने अर्को मार्गबाट बनेपा-धुलिखेल-चौतारा हुँदै कुती पुग्न सकिन्थ्यो। काठमाडौँ र भक्तपुर बीचको वैमनस्यताका कारणले गर्दा कान्तिपुर र ललितपुरका व्यापारीहरू साँखुकै बाटो बढी प्रयोग गर्दथे। यसर्थ साँखु एक प्रमुख व्यापारिक केन्द्र बनेको थियो। तसर्थ यसलाई कब्जा गर्न होड चलेको थियो तर साखु धेरै समय कान्तिपुरकै अधीनमा रह्यो भने बनेपा-धुलिखेल भक्तपुरकै स्वामित्वमा थियो। यसै क्रममा पृथ्वीनारायण शाहले नाकाबन्दीको नीति लिई साँखु र बनेपा दखल गरी उपत्यकालाई घुँडा टेकाउन सकेका हुन्।

हिन्दुस्तानका मालसामान पनि बनेपा-धुलिखेल भएर कुतीबाट भोट पुग्ने गर्दथे। यो बाटो छोटो भए तापनि घोडा, खच्चड र चौरी जस्ता जनावरको आवागमनलाई भने सहज थिएन। अत: भारी बोक्ने भरियाहरूकै भरमा व्यापारीहरू सामान ल्याउने-लैजाने गर्दथे। हालको सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका तामाङहरू बढी भरियाको काममा खटिन्थे। काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा भोटेनुनको आपूर्ति यसै नाकाबाट हुन्थ्यो। सन् १९२६–१९२७ को तथ्याङ्कअनुसार बर्सातका महिनाबाहेकका ८ महिनामा कुती क्षेत्रबाट ३७,५९,९२० किलोग्राम नुन नेपाल भित्रिएको थियो। थप जानकारीका लागि तीर्थप्रसाद मिश्रको दि टेमिङ अफ तिब्बत, दिल्ली, १९९१ पुस्तक अध्ययन गर्न सकिन्छ ।

हिमालयको मध्यभागमा रहेको र प्राय: सबै मौसममा खुल्ला हुने हुँदा यो कुती नाकाको विशेष महत्त्व रहेको थियो। सत्रौँ शताब्दीमा प्रताप मल्लले भोटको युद्धमा विजय प्राप्त गरी केही समय कुती क्षेत्र आफ्नो अधीनमा राखेका थिए। नेपाल–भोट बीच सन् १७८८ र सन् १८५४–१८५५ का युद्धपछिको सुलह ९वार्ता०मा नेपालले कुती क्षेत्र सुम्पनुपर्ने माग राखे पनि भोटले यो क्षेत्र सुम्पन कहिल्यै मन्जुर गरेन।

तत्कालीन समयमा अफिम जस्ता निषेधित वस्तुको व्यापारमा राणाशासक स्वयम् सरिक भई अपार कमाउन सकेका थिए भने कुती नाकाको भन्सारबाट पनि सरकारलार्इ मनग्य आम्दानी हुने गर्दथ्यो। यो मार्गबाट खाद्यान्न, मरमसला, तामा र काँसका घरायसी सामान, सक्खर, खुर्सानी, बेसार, धातुका मूर्ति, मुगा, फलामका हातहतियार, सुर्तीजन्य पदार्थ, सुती कपडा, सुक्खा फलफूल, दुूरबिन र युरोपमा उत्पादित विलासी वस्तुहरू भोटको बजारमा पुग्दथे। यसैगरी यही मार्ग भएर घोडा, कुकुर, ऊन, सुन, कस्तुरी बिना, चिनियाँ माटाका भाँडाकुँडा र रेशम नेपाल आउँथे। ल्हासा र कलकत्ताको मध्यस्थ व्यापारले त्यसबेला ठूलो नाम कमाएको थियो। कुतीले नेपाललाई समृद्ध बनायो। यही मार्गबाट व्यापार गर्ने नेवारहरूले महाजनका रूपमा प्रतिष्ठा कमाए।

भोटमा रहेका नेपालीहरूका लागि सन् १९५६ सम्म नेपालकै कानुन लाग्दथ्यो। भोटमा बस्ने नेपाली व्यापारीले स्थानीयसँग विवाह गरी जन्मिएका सन्तान पुरुष नेपालको रैती हुन्थ्यो भने महिला भोटकै रैतस् हुन्थे। व्यवसायमा नेपाली व्यापारीकै हालिमुहाली थियो। हिन्दुस्तानका व्यापारीहरू पनि कुती नाका प्रयोग गरी भोटसँग व्यापार गर्न लालायित हुन्थे तर उनीहरूले पृथ्वीनारायण शाहको उदय भएपछि यो मार्ग प्रयोग गर्ने अनुमति नै पाएनन् । उनीहरूको कारोबार नेपाली व्यापारीसँग मात्र सीमित थियो । हिन्दुस्थानका धार्मिक पण्डित, भिक्षु र धार्मिक पर्यटकहरूले नेपाल सरकारको अनुमतिबाट मात्र यो बाटो प्रयोग गर्न सम्भव थियो ।

कुती क्षेत्रमा नेपाली डिट्ठा हाकिमहरू रहने अड्डा नै थियो र उक्त स्थानमा नेपाली व्यापारीहरूको स्थायी बसोबास पनि थियो । कुतीमा रहेका केही व्यापारीहरूको हैसियतका विषयमा इसाई पादरी डेसा डेरीले रोचक टिप्पणी गरेका छन् स् कुतीका नेपालीहरूले विश्रामशाला बनाएका थिए, जसमा यात्रुहरू बास बस्नलाई सहज थियो । यसको अलावा यी नेपालीहरू अगाडिको यात्राका लागि भरिया, घोडा, चौरी जस्ता यातायातका त्यसबेला चल्तीका साधनहरूको पनि व्यवस्था गर्दथे । यी नेपालीका गोदाममा व्यापारीहरूले आफ्नो सामान राख्न सक्दथे । भोटबाट आएका व्यापारीहरूलाई नेपालतर्फको भन्सारको प्रक्रिया पूरा गर्न सहयोगी भूमिका समेत निर्वाह गर्दथे । नेपालमा नै बसोबास गर्ने गोसाई र कास्मिरीहरूले समेत यो नाका प्रयोग गर्ने गरेका थिए ।

कोदारी राजमार्ग बनेपछि र यो नाका व्यापारिक प्रयोजनका लागि खोलिएपछि धेरै चहलपहल सुरु भयो । चिनियाँ वस्तु यही मार्ग हुँदै नेपाललगायत भारतीय बजारमा पुग्न थाले । सन् २०१५ को भूकम्पबाट पुन: यो नाका मारमा पर्‍यो । कठिन भौगोलिक अवस्थिति र बारम्बार सडक भत्किने कारणबाट यो नाकामा समयसमयमा व्यापारिक व्यवधान आइरहेको पाइन्छ ।

सन् १९०४ मा ल्हासा सम्झौताबाट छुम्बी घाँटीको मार्ग प्रचलनमा आउँदा कुती मार्गको चल्ती कम हुन गयो। सन् १९४९ मा भोटमा चीनको प्रभुत्व कायम हुँदा ल्हासामा रहेका चिनियाँहरूलाई आवश्यक पर्ने खाद्यान्न, रोलेक्स र ओमेगा घडी, पार्कर पेन र मोटरका पार्टपुर्जा यही बाटो पुर्‍याई नेपाली व्यापारीले मनग्य नाफा कमाएका थिए। अस्ट्रेलियाको पिठो समेत नेपाली व्यापारीले नै झिकाई कुती मार्ग हुँदै ल्हासा पुर्‍याउने गर्दथे। तर चीनले भोटमा बाटोघाटोको समुचित प्रबन्ध गर्दा र नेपाली व्यापारीप्रतिको दृष्टिकोण फेरिँदा यो मार्ग शून्यप्राय: हुन पुग्यो।

नेपालको भोटसँगको व्यापारकै कारण लिच्छविकालमा मानगृह, कैलाशकुट भवन र भद्राधिवास जस्ता भव्य दरबारहरू बनेका थिए भने नरेन्द्रदेव जस्ता राजा भव्य सिंहासनमा बस्न सकेका थिए। मध्यकालमा काठमाडौँ उपत्यकाका तीनै सहरमा भव्य दरबार, मन्दिर र सत्तलहरू बने, जसले गर्दा शासक र जनता दुवै सम्पन्न भए। यसले आर्थिक उन्नतिका साथै संस्कृति र सभ्यताको क्षेत्रमा पनि ठूलो योगदान दियो। यो ऐतिहासिक कोदारी(कुती नाकाले विगतमा नेपाललाई ठूलो गुन लगायो, तर अहिले स्थिति उल्टो भएको छ। अहिले व्यापार एकतर्फी छ र व्यापार घाटा अकासिँदो छ। यार्सागुम्बा, रक्तचन्दन, जीवजन्तुका अङ्ग र सुन तस्करी हुने घटना बारम्बार देखिँदै छन्। हिजो देशलाई समृद्ध बनाउने यो नाका आज यस्तो किन भयो भन्ने प्रश्नको समुचित उत्तर खोज्ने प्रयास कतैबाट भएको छैन। सरकार केवल भन्सारको आय वृद्धिमा दङ्ग परेको देखिन्छ।