skip this वडा नं १६ बालाजु च:मती

अन्डमानमा नेपाली बस्तीः पहिचान र पराक्रम

पुष्पलपुरदेखि पोर्टब्लेयरसम्म

२०८२ साल भाद्र महिनामा भारतको बहुप्रतिक्षित स्थान अन्डमान निकोबारको भ्रमण गर्ने साइत जुर्यो। भारतीय केन्द्रशासित उक्त प्रदेशको राजधानी पोर्टब्लेयरमा रहेको नेपाली बस्तीसँग साक्षात्कार गर्ने अवसर पनि पाइयो। उक्त बस्तीमा बसोबास गर्ने नेपालीहरूसँग गरिएको भलाकुसारी र स्थलगत अवलोकनका आधारमा यो आलेख तयार पारिएको हो।

प्राचीन कालदेखि नै नेपालबाट चीन र भारत दुवैतर्फ नेपाली व्यापारी, भिक्षु, विद्वान्, जोगी(सन्यासी, घुमन्तेफिरन्ते आदि आउने जाने गरेका थिएस इतिहासले यसै भन्छ। भारतको नालन्दा तथा तक्षशिलामा रहेका विश्वप्रसिद्ध शैक्षिक प्रतिष्ठानमा नेपालीहरू सम्मानित पदमा कार्यरत रहेका थिए भने भोटमा पनि नेपाली व्यापारीहरूले महाजनको रूपमा नाम कमाएका दृष्टान्त छन्। कलाकार अरनिकोले नेपाली कला र वास्तुकलाको पहिचान चीनसम्म पुर्याई चिनियाँ बादसाहबाट विशेष कदर प्राप्त गरेका थिए। १९ शताब्दीदेखि नेपालीहरू हिन्दुस्तानको सुरक्षालगायत विभिन्न क्षेत्रमा कार्यरत रहेका उदाहरण पनि पाइन्छन्। हाल हिन्दुस्थानका कुनाकुनामा नेपालीहरू विभिन्न पेसा र सेवामा कार्यरत रहेका छन्। ती सबैले आफ्नो पहिचान, संस्कृति र मर्यादा राखेकै कारण सम्मानित, प्रशंसित एवं उदाहरणीय रहेका छन् । यसै गौरवपूर्ण परम्परालाई नेपाली बस्तीका नेपालीहरूले त्यस स्थानमा आफ्नो पृथक् पहिचान कायम गर्दै पराक्रमी हुन पुगेका देखिन्छन् ।

पोर्टब्लेयर भारतको केन्द्र शासित अन्डमान निकोबार द्वीप समूहको राजधानी हो। बङ्गालको खाडीस्थित हिन्द महासागरमा अवस्थित अन्डमान निकोबार ५७२ वटा टापुहरूको संयुक्त९साझा० नाम हो। यी टापुहरूमध्ये ३८ वटामा मात्र मानवहरूको बसोबास रहेको छ। यस प्रदेशको राजधानी पोर्टब्लेयर हो, जसलाई हाल श्री विजयपुरम नामकरण गरिएको छ। यो क्षेत्र भारतको कोलकोताबाट १,२५५ किलोमिटर र चेन्नईबाट १,१९० किलोमिटर टाढा बङ्गालको खाडीमा अवस्थित छ। यस ठाउँबाट हिन्दुस्थानको मूल भूभागभन्दा इन्डोनेसिया १६५ किलोमिटर, म्यानमार २८० किलोमिटर तथा थाइल्याण्ड ६५० किलोमिटरको दूरीका देशहरू हुन् ।

धेरै कालसम्म यहाँका बासिन्दा अन्य क्षेत्रका मानवसँग पृथक् रहेका थिए, भूगोलले गर्दा। पुरातात्त्विक सामग्रीहरूको आधारमा यहाँको संस्कृति करिब २,२०० वर्षदेखि विकसित भएको देखिन्छ। अफ्रिकाका आदिवासी आएर यहाँका टापुहरूमा बसोबास गर्न थालेको बताइन्छ। डचहरू प्रथम युरोपियन थिए जो उक्त स्थानमा पुगे, यो सन् १७५५ तिरको घटना थियो। सन् १८६८ देखि अन्डमान निकोबार ब्रिटिस साम्राज्यमा समेटिन गयो। दोस्रो विश्वयुद्धताका केही समय जापानले उक्त क्षेत्र कब्जा गरेको थियो। सन् १९४७ देखि भारतकै एक प्रान्तका रूपमा रहेको छ। हाल सुरक्षा संवेदनशीलताका दृष्टिले यो क्षेत्र सामरिक महत्त्वको रहेको देखिन्छ। सुभाषचन्द्र बोससँग यो क्षेत्रले विशेष सम्बन्ध राख्छ। विविध भौगोलिक अवस्थिति एवं पृथक् संस्कृति र आदिवासीका कारण यो विश्वकै आकर्षक गन्तव्यस्थल बन्न पुगेको छ।

नेपालीहरू अन्डमान क्षेत्रमा कहिले पुगे भन्ने विषयमा खासै जानकारी उपलब्ध छैन। दोस्रो विश्वयुद्धताका ब्रिटिस फौजमा भर्ना भएका नेपालीहरू यसै स्थानमा लड्न पुगेका थिए र उनीहरू मध्ये केही उतै बसेका हुनसक्ने अनुमान भने गर्न सकिन्छ। भारत स्वतन्त्र भएपछि पनि धेरै नेपालीहरू पुलिसमा जागिर खान अन्डमान निकोबारमातिर पुगेका थिए। त्यतिबेला स्थानीयबाट प्रचुर मात्रामा पुलिसको सेवा गर्न जनशक्ति उपलब्ध पनि नहुने र चाहना पनि नहुने हुँदा अन्य क्षेत्रबाट सुरक्षा प्रयोजनका लागि भर्ना गरिन्थ्यो। यस क्रममा नेपालीहरूको शारीरिक सुगठन, बहादुरिता र कर्तव्य परायण एवं इमानदारिताका कारण पुलिस सेवामा धेरै नेपालीहरू भर्ना भएका छन्। यो कुरा हामीलाई जित बहादुर सिंहले बताएका हुन्। उनी पुलिसमा भर्ना भई पोर्टब्लेयरमा पुगेका नुवाकोटका एक तामाङका नाति  रहेछन् र हाल फेरारगञ्जमा सेवा निवृत्त भई चिया पसल गरेर बसेका रहेछन्। यसरी पुलिसमा सेवा गरेर सेवा निवृत्त भएपछि उतै बसोबास गर्नेहरूको सङ्ख्या पनि त्यहाँ रहेको कुरा उनैले बताए। यसैगरी सुरक्षा गार्ड, चौकीदार, घरायसी कामकाज गर्न, होटल व्यवसायमा कार्य गर्न धेरै नेपालीहरू त्यस क्षेत्रमा पुगेका थिए। अन्डमानका विभिन्न स्थानमा नेपालीहरू कार्यरत रहेछन्। नील र ह्याभलक द्वीपमा नेपालीहरूले रेस्टुरा सञ्चालन गरी उल्लेख्य आय गर्न सफल भएको कुरा हामीले अवलोकन भ्रमणको क्रममा देख्न पायौँ। अन्डमानका विभिन्न मानव बस्ती र पर्यटकीय क्षेत्र नेपालीहरूको उपस्थिति उल्लेख्य भएको अनुमान गर्न सकिन्छ। त्यतातिर सोधखोज गर्न समय मिलेन। यस आलेखमा केवल  त्यहाँ भेटिएको नेपाली बस्तीको मात्र चर्चा गर्न खोजिएको छ।

अन्डमान निकोबारको राजधानी पोर्टब्लेयरकै प्रमुख केन्द्र हो, अबरडिन बजार। यसै स्थानबाट करिब २ किलोमिटरको दूरीमा १०(१५ मिनेटको पैदल यात्रापछि पुगिन्छ नेपाली बस्ती। यस स्थानलाई सदिपुर खेती भनिन्छ। यसै बस्तीमा नेपालीहरूको ६० भन्दा बढी घरहरू छन् र स्थायी बसोबास गर्नेहरूको सङ्ख्या ३०० भन्दा अधिक रहेको अनुमान छ। १९७० को दशकमा नेपालको धनुषा जिल्लाको पुष्पलपुर गाउँबाट रोजगारीको सिलसिलामा कोलकोता हुँदै त्यहाँ पुगेका कुनै विश्वकर्मा थरका व्यक्ति त्यस स्थानमा अग्रणी व्यक्तित्व रहेछन्। उनैले आफन्तलाई त्यस स्थानमा बोलाउँदै गए र कालन्तरमा सबैले आफ्ना जहान छोराछोरीलाई पनि साथ लिएर आउँदा उनीहरूको संख्या बढ्दै गएको रहेछ। त्यस नेपाली बस्तीमा सबै विश्वकर्मा मात्र छन् भने तिनीहरू सबै पुष्पलपुर धनुषाका रहेछन्। नेपालको एकै गाउँबाट गएर एकत्रित भएको यस्तो नेपाली बस्ती सम्भवत अन्यत्र कतै पाइँदैन। नेपाली बस्तीमा विश्वकर्माका रसाइली, गजमेर, धमला ,गहतराज, दर्नाल, लामगामे आदि थरका मानिस छन्। ती एकआपसमा सम्बन्धित छन्, बाबु वा आमातिरबाट। हाल यस स्थानमा रहेको पहिलो पुस्ताको जन्म सबैको पुष्पलपुरमा नै भएको भए पनि दोस्रो र तेस्रो पुस्तामा धेरैको जायजन्म सोही स्थानमा भएको पाइन्छ।

नेपाली बस्तीमा पुग्न नियमित बससेवा नभए तापनि अन्य हलुका सवारी साधनहरू प्रचुर मात्रामा उपलब्ध छन्। नेपाली बस्ती भन्नेबित्तिकै जोकोही पनि स्थानीय जानकार भएको पाइयो। यो नेपाली बस्ती सरकारी भूमिमा निर्माण भएको छ तसर्थ निर्माण भएका घरटहराहरूको जग्गाधनी पुर्जा सम्बन्धित व्यक्तिको नाममा छैन। सरकारी जमिन भएकाले खानेपानी र बिजुलीको आपूर्तिमा कठिनाइ हुने गरेको छ। तथापि हाल सरकारले सार्वजनिक धाराहरूको व्यवस्था चाहिँ गरेको छ। साथै बिजुली आपूर्ति पनि गर्न थालेको छ। पानीको अभावका कारण त्यहाँका अधिकांशले आकासेपानी सञ्चय गर्ने गरिएको देखियो। यी सबै नेपालीहरूसँग भारतीय आधार कार्ड रहेछ। तसर्थ भारतीय सरकारले स्थानीय जनतालाई उपलब्ध गराउने रासनलगायतका सबै सुविधा यिनीहरूले पनि पाउने गरेका रहेछन्। हाल उनीहरू स्वास्थ्य र शिक्षामा पहुँचमा रहेका छन्। निकटका अन्य बस्ती जस्तो व्यवस्थित र आकर्षक चाहिँ यो बस्ती अझै हुन सकेको छैन। यहाँका अधिकांश घर टहराहरू छन् भने एकादुई पक्की घर पनि छन्। सरसर्ती हेर्दा उक्त बस्तीमा नेपालको बागमती किनारमा रहेका सुकुम्बासी बस्तीको झझल्को आउने रहेछ।

यस नेपाली बस्तीमा महिलाभन्दा पुरुषको सङ्ख्या बढी छ कारण कतिपय पुरुषहरूले आफ्ना जहान केटाकेटीहरू पुष्पलपुरमा नै छाडेका छन् तर तिनीहरूले पनि व्यावहारिक कारणले मात्र यसो गरेका रहेछन्। ल्याउन नचाहेर भने होइन। नेपालको घरमा भएका वृद्धवृद्धा, बालक, अशक्तको हेरचाह गर्नुपर्ने बाध्यता भएकाले ल्याउन नसकेको जानकारी पायौँ। प्राय: महिलाहरू घरेलु कामदारका रूपमा र स्थानीय सरकारको सफाइ कार्यमा सरिक भएका छन्। केही स्थानीय होटलमा पनि कार्यरत रहेको पाइयो। महिलाहरू अपेक्षित रूपमा शिक्षित नहुँदा अन्य सेवामा लागेका छैनन्। दोस्रो तेस्रो पुस्तामा महिलाहरू शिक्षाप्रति जागरुक हुँदा पहिलो पुस्ताको तुलनामा आकर्षक सेवा गर्न सक्षम हुने विश्वास लिन सकिन्छ।

पुरुषहरू भने विविध सेवामा सरिक भएका छन्। नगरपालिकामा धेरैले रोजगारी पाएका छन् भने होटल रेस्टुरामा काम गर्नेको सङ्ख्या पनि उत्तिकै छ। विभिन्न उद्योग, पसल एवं सवारी साधन मर्मतसम्भार गर्ने कार्यमा पनि नेपालीहरू खटिएका छन्। मुख्य बजारमा एकजनाले किराना पसलले नै सञ्चालन गरेका रहेछन्। जवाहरत तथा अन्य व्यापारिक प्रतिष्ठानमा सुरक्षा गार्डमा पनि यी नेपालीहरूको उच्च माग भएको बताइन्छ। एकादुईले त आफै गाडी किनी ट्याक्सीका रूपमा सञ्चालन गरेको पनि देखियो। विभिन्न बैंकमा सुरक्षा गार्डलगायत कार्यालय सहयोगीका रूपमा कार्य गर्ने गरेको उनीहरूको भनाइ छ। उनीहरूले बाल्यावस्थामा स्थानीय स्कुलमा पढ्दै गरेको र बीचमै पढाइ छाड्ने गरेको प्रवृत्ति अधिक देखियो। त्यस बस्तीबाट हालसम्म उच्च शिक्षा हासिल गर्ने कोही पनि नभएको जानकारी पाउँदा दु:ख लाग्यो।

नेपाली बस्तीको प्रवेश मार्गमा नै शिव मन्दिर रहेको छ। जहाँ प्रत्येक सोमबार भजन किर्तन गर्ने गरिन्छ। नेपाली भाषामा नै भजन गाइँदो रहेछ। सबै नेपाली बस्तीमा नेपाली भाषा नै बोल्ने गरेको र नेपालमा मनाइने विभिन्न चाडपर्व मनाउने गरिएको छ, एकआपसमा। यसै संस्कृतिका कारण एक ढिक्का भएका छन्,बस्तीवासीहरू। सानोतिनो विवाद उनीहरू आफै मिलाउँछन्। हालसम्म झैझगडा भई पुलिस आएको थाहा नभएको उनीहरूको भनाइ छ। त्यहाँ हिन्दु धर्मावलम्बीकै बाहुल्य छ। उनीहरू धर्म परिवर्तन गर्न इच्छुक रहेनछन्। खान लगाउन कसैलाई सकस रहेनछ बरु आफ्नो आम्दानीबाट सबैले धेरथोर बचत गरी नेपालमा रहेका आश्रितलाई पठाउने गरेका रहेछन्।

दोस्रो तेस्रो पुस्ताका नेपालीहरू स्थानीय रहनसहन तथा खानपिन प्रति आकर्षित हुँदै गएका रहेछन्। उनीहरूले भविष्यमा नेपाली संस्कृतिप्रति रुचि नदेखाउने हुन् किरु स्थानीयसँग विवाह गरी यतैको हावापानीमा रमाउने हुन् भन्ने चिन्ता पनि पहिलो पुस्ताका मानिसमा रहेछ। यी नेपालीहरू सानोतिनो रोगको उपचार चाहिँ स्थानीय तहमा नै गर्ने रहेछन् तर ठूलो रोग लागेमा उपचारका लागि नेपाल नै फर्कने गरेको उनीहरूले बताए। धुम्रपान र मध्यपानप्रतिको मोहबाट भङ्ग हुन नसकेको अवस्था रहेछ।

प्राय: सबै एक दुई वर्षमा पुष्पलपुर जाने गरेको बताउँछन् र केहीले जन्मथलोमा नै जग्गा जमिन जोडेका पनि छन्। पानीजहाजबाट कोलकोता, मद्रास, चेन्नाई भएर नेपाल जाँदा धेरै समय लाग्ने हुँदा उनीहरू कोलकोता, बागडोगरा हवाई जहाजमा नै त्यहाँबाट पुष्पलपुर जाने गरेका छन्। बुढेसकाल स्वदेशमा नै बिताउने उनीहरूको प्रवल इच्छा रहेछ।

जातपात, उचनिच, छुवाछुतको भावना नभएको र रोजगारीको अवसर प्रचुर भएको, आयअनुसार बचत गर्न सकिने हुँदा र आफ्नै आवास भएकाले सबै रमाएकै देखियो। सरकारी जमिनमा घर बनाएको र आफ्नो नाममा दर्ता नभएको हुँदा भविष्यमा के हुने हो भन्ने चिन्ताले चाहिँ सबैलाई सताएको रहेछ।

पुष्पलपुरबाट पोर्टब्लेयर पुगी आफ्नै बस्ती बसाएर नेपाली संस्कृति र पहिचान अन्डमानमा पुर्याउने यी नेपाली सपूतहरूलाई हृदयदेखि सलाम ।

अन्डमानको भ्रमणमा साथ दिने श्री गायत्रीप्रसाद वाग्ले, श्री सरोज पाण्डे, श्री युवराज न्यौपाने, पुष्पा मिश्र, कल्पना खनाल, अम्बिका खनाल, रमा खनाल र उमा खनाललाई हार्दिक धन्यवाद१ जसका सहृदयता कारण यो भ्रमण गर्ने अवसर मिलेको थियो।े