काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण नेपालको मौसममा गम्भीर असर पर्ने भन्दै उच्च सतर्कताका लागि अनुरोध गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, यो प्रणालीको प्रभाव कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म रहनेछ।
चक्रवात ‘मोन्था’को सीधा प्रभाव कोशी, मधेस र बागमती प्रदेशमा पर्नेछ। मधेस र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेस र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।


















