कांग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष सकियो

 

नेपाली कांग्रेसको आज बसेको पदाधिकारी बैठकमा पनि महाधिवेशन कार्यतालिकाबारे सहमति जुट्न सकेन।

महाधिवेशन कार्यतालिकामा विवाद हुँदा शुक्रबार केन्द्रीय समिति बैठक बस्दै नबसी आइतबार दिउँसो १ बजेसम्म स्थगित गरिएको थियो।

सहमतिका लागि आज कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक राखेका थिए। उक्त बैठकले पनि १५ औं महाधिवेशन कार्यतालिकामा सहमति खोज्न सकेन।

बैठकमा ढिलोमा पुस १६ देखि १९ सम्म महाधिवेशन गर्नुपर्ने एउटा र वैशाख अन्तिममा महाधिवेशन गर्नुपर्ने अर्को प्रस्तावमाथि छलफल भएको नेताहरूले बताएका छन्।

महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्न प्रस्ताव गरेका छन्।

यो प्रस्तावमा अर्का महामन्त्री गगन थापा र नेता शेखर कोइराला सकारात्मक देखिन्छन् तर सभापति शेरबहादुर देउवा पक्ष चुनावपछि वैशाख अन्तिममा महाधिवेशन गर्न उपयुक्त हुनेमा छन्। त्यसैले महाधिवेशन कार्यतालिकामा सहमति हुन सकेको छैन।

पदाधिकारी बैठकमा महामन्त्री शर्माले मध्यमार्गी प्रस्ताव पनि अघि सारेका छन्। पुस १६ देखि महाधिवेशन वा डिजिटल प्रक्रियाबाट `महासमिति सदस्य´ को निर्णय मानौँ भन्ने उनले प्रस्ताव गरेका हुन्।

 

 

`सहमति जुट्न नसक्दा पक्ष-विपक्षमा धेरै विभाजित नबनौं, एकातर्फ केन्द्रीय समितिको बहुमत छ, अर्कातर्फ ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको बहुमत छ। दुवै बहुमतको मर्यादा राख्दै दुवै बहुमत भन्दा माथिको निकाय `महासमिति´ को राय `डिजिटल भोटिङ सिस्टम´ बाट लिउँ।

पदाधिकारी बैठकले आज महाधिवेशन कार्यतालिकामा सहमति जुटाउन नसकेपछि केन्द्रीय कार्यसम्पादन समिति बैठक गर्ने तयारी छ।

भोलि दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नुअघि कार्यसम्पादन समितिमा महाधिवेशन कार्यतालिकाबारे छ्लफल हुने नेताहरूको भनाइ छ।