हिमाली एजेन्डा स्थापित गर्ने प्रयास सफल भएको दाबी गर्दै परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपालको हिमाली एजेन्डा स्थापित गर्न प्रयास गरेको बताउँदै परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन्। टर्कीको अन्ताल्यामा आयोजित सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका खनाल शनिबार स्वदेश फर्किएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उच्चस्तरीय बैठकहरूमा नेपालको तर्फबाट हिमाल र पर्वतीय मुलुकका मुद्दा उठाएको बताए। यस वर्षको सम्मेलनले पर्वतीय मुलुकका एजेन्डालाई कुनै न कुनै रूपमा स्वीकार गर्नेमा आफूहरू आशावादी रहेको उनको भनाइ थियो। सम्मेलनमा नेपालले पर्वत तथा जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्य कार्यक्रम, जलवायु वित्तमा न्यायोचित पहुँच, हानि-नोक्सानीको सम्बोधन, प्रविधि हस्तान्तरण र हिमाली क्षेत्रको वैज्ञानिक अनुगमनलाई प्राथमिकताका साथ उठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालले भुटान, किर्गिस्तानलगायतका देश तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा पर्वतीय उत्थानशीलताका लागि अनुकूलन वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रमसमेत आयोजना गरेको थियो।