skip this वडा नं १६ बालाजु च:मती

कारागार प्रशासनले जेल जोगाउनै नसक्ने अवस्था हुने भयो ,तपाई गइदिनुप¥यो भनेपछि म निस्किएको हुँ :रबि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले नख्खु कारागार प्रशासनकै आग्रह र अनुरोधमा आफू कारागारबाहिर निस्किएको दाबी गरेका छन् । जेन–जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगमा बयान दिँदै लामिछानेले त्यो दिन (भदौ २४ गते) तपाईं बाहिर ननिस्किए प्रदर्शनकारीहरूले कारागारमै आक्रमण र तोडफोड गर्ने अवस्था आउने भनेपछि आफू निस्किएर गएको भनी बयान गरेका हुन् ।

‘त्यो दिन म कारागारमै बसिरहेको थिएँ, प्रदर्शनकारीहरूले नाराबाजी र प्रदर्शन गर्दै हामी बसेको कारागारतिर आएपछि सुरक्षाकर्मीहरू र कारागार प्रशासनले जेल जोगाउनै नसक्ने अवस्था भएछ, ‘बाहिरको प्रदर्शन बढ्दै गए र कारागारमाथि आक्रमण भए कैदीबन्दी नै जोगाउन नसक्ने अवस्था हुने भएपनि उहाँहरूले नै मलाई गइदिनुप¥यो भनेपछि म निस्किएको हुँ ।’ करिब छ घण्टा लामो बयानको सुरुआतमा लामिछानेले जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य विज्ञानराज शर्माको नाम लिएका थिए ।

त्यसपछि लामिछानेले त्यो दिन नख्खु कारागारमा भएको घटनाका बारेमा विस्तृत रूपमा बताएका थिए । आफू कारागारमै रहेको अवस्थामा बाहिर प्रदर्शनको खबर आइरहेको र अपडेट भइरहेको भन्दै उनले पछि संसद् भवन, विभिन्न सरकारी निकायहरूमाथि आक्रमणको खबर थाहा पाएको बताए ।
उनले बयानमा गरेको दाबी अनुसार, रास्वपा समर्थक एवं प्रदर्शनकारीहरूको एउटा टोली रवि लामिछानेलाई कारागारबाट बाहिर निकाल्ने भन्दै नख्खु कारागार पुगेको थियो । गृहमन्त्री रमेश लेखकले राजिनामा दिएकाले खाली भएको पदमा ‘रविदाई’लाई लैजानुपर्ने भन्दै भीडले नाराबाजी गर्न सुरु गरेको थियो ।
प्रदर्शनकारीहरूले ‘रवि लामिछानेलाई बाहिर निकाल्नुपर्ने’ माग बढाउन थाले । त्यसबीचमा कारागार प्रशासनका कर्मचारीहरूले रास्वपाका केही नेता र रवि लामिछानेकी पत्नी निकितालाई खबर गरेको बयानमा दाबी छ ।

‘त्यसपछि सुरक्षाकर्मीहरू र कारागार प्रशासनका कर्मचारी आएर ‘यहाँ हामीले थेग्न नसक्ने भयौं, हजुर गइदिनुपर्ने भयो’ भनेर मलाई आग्रह गरे’ लामिछानेको भनाइ उद्धृत गर्दै आयोगसम्बद्ध स्रोतले भन्यो, ‘म कारागारको पत्र नभई एक डेगपछि चल्दिन भनेपछि पत्र तयार पारेका हुन्, त्यसपछि बल्ल म निस्किएको हुँ ।’