काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उनको प्रतिवेदनमा हालैको जेनजी आन्दोलनदेखि राष्ट्रिय राजनीतिका प्रमुख एजेन्डाहरूमा पार्टीको विचारधारा थप स्पष्ट गरिएको छ । उपसभापति अर्याल गत भदौ २३ र २४ गतेको घटनालाई पुराना दलको शासकीय अनैतिकता र अक्षमताको परिणामका रूपमा व्याख्या गरेका छन् ।
प्रतिवेदनमा भनिएको छ, ‘शासकहरूले आफ्नो भविष्य बरबाद पारे भन्ने तीव्र असन्तुष्टिले उनीहरू परिवर्तनको हिस्सा मात्र होइन, निर्णायक शक्ति नै बन्न अगाडि सर्दा जेनजी आन्दोलन भयो ।’ भदौ २३ र २४ गतेको घटनाको अनुसन्धान र कारबाही सरकारको तत्कालीन कार्यभार भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
‘आन्दोलन हिंसात्मक बनेपछि जेनजीले २३ गते दिउँसै प्रदर्शन अन्त्यको घोषणा गरिसकेका थिए । तर सरकारको चरम दमन र विद्यालय पोशाकमा आएका विद्यार्थी लगायतको हत्यापछि जनस्तरबाटै प्रतिवाद हुँदा आन्दोलन निर्णायक र सफल भएको हो,’ प्रतिवेदनमा भनिएको छ ।
अर्यालले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई २४ गतेको घटनाले राजीनामा दिन बाध्य पारेको बताएका छन् । उनले लेखेका छन्, ‘स्कुले विद्यार्थीले ज्यान गुमाउनु परेको दुखमा होइन, आफ्नै सुरक्षाको चिन्तामा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको हो ।’
२४ गतेको विध्वंसमा राजनीतिक कार्यकर्ताको सक्रियता रहेको तथ्य फोटो र भिडिओहरूबाट खुलेको अर्यालले उल्लेख गरेका छन् । सार्वजनिक भएका केही तथ्यले भदौ २४ को घटना योजनावद्ध हो कि भन्ने आशंकालाई बढाएको उनको भनाइ छ ।
प्रतिवेदनमा भनिएको छ, ‘२३ गते राज्य शक्तिको दुरुपयोगमा जनहत्या भएकै कारण २४ गतेका घटना भएका हुन् । तर, दुवै दिनका घटनाको निष्पक्ष छानबिन गरी अपराध र संलग्नताको आधारमा दोषीलाई कारबाही गर्नुपर्छ । कार्यवाहक सभापति अर्यालले जेनजी आन्दोलनको बलमा बनेको दलविहीन अन्तरिम सरकारलाई बाध्यताको उपज भनेका छन् ।




















