नेकपा एकीकृत समाजवादीबाट एमालेमा पुनः फर्किएका नेता कृष्णकुमार श्रेष्ठले चार वर्षअघि पार्टी छोड्नु आफ्नो जीवनको सबैभन्दा ठूलो भूल भएको बताएका छन् । एमालेले सोमबार आयोजना गरेको ‘घर फर्क राष्ट्रिय अभियान’ कार्यक्रममा सहभागी हुँदै उनले सीमित नेताहरूको स्वार्थका कारण विभाजनको समर्थन गर्नुपरेको बताए ।
‘मेरा लागि आज राजनीतिक जीवनकै अत्यन्त भावनात्मक र ऐतिहासिक दिन हो,’ श्रेष्ठले भने, ‘त्यो बेला एमाले छोड्ने निर्णय परिस्थितिअनुसार ठीक लागेको थियो, तर अहिले बुझ्दा त्यो गल्ती थियो भन्ने निष्कर्षमा पुगेका छौँ ।’
श्रेष्ठले नेकपा एमालेलाई सशक्त र समृद्ध बनाउन योगदान दिने प्रतिबद्धता जनाउँदै पार्टी छोडेका सबै साथीहरूलाई पुनः फर्किन आग्रह गरे । उनले भने, ‘एमाले केवल एउटा संगठन होइन, यो देश निर्माणको आधार हो ।’
उनका अनुसार एमाले जनमुखी, आदर्श र राष्ट्रिय स्वाभिमानमा अडिग पार्टी हो, जसलाई अझ प्रभावकारी बनाउन सबै कार्यकर्ताले एकताबद्ध भएर काम गर्नुपर्ने समय आएको छ ।




















