सिमरा घटनाप्रति ओलीको प्रतिक्रिया– मुसाले बिरालो तर्साएजस्तो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारामा भएको घटनाप्रति उत्तेजक अभिव्यक्ति दिएका छन् । बारामा एमालेनिकट युवा संघले आयोजना गरेको कार्यक्रममा जाने नेताहरूलाई रोक्न जेन–जीहरूले विरोध गरेका थिए । सिमरा विमानस्थलमा एमाले कार्यकर्ता र जेन–जीबीच झडप भएपछि कर्फ्यु लगाउनु परेको थियो ।

त्यही घटनालाई इंगित गर्दै अध्यक्ष ओलीले जेन–जी समूहका गतिविधिले राजनीतिक अराजकता निम्त्याएको आरोप लगाएका हुन् । उनले देशभर यस्ता गतिविधि बढेको टिप्पणी गर्दै केहीछिनका लागि मुसाले बिरालोलाई तर्साएजस्तो पनि भनेका छन् ।

एमालेको ‘स्थानीय तहका जनप्रतिनिधिको भूमिका’ विषयक अन्तर्क्रियामा ओलीले भने, ‘अहिले एकछिनका लागि मुसाले बिरालो तर्साएजस्तो अवस्था छ । एमालेलाई कोही फोन गर्छ, म जेन–जी हुँ’ भनेर । अस्ति आगो लगाएको देख्यौँ । यिनलाई रोक्न कसैको ध्यान जाँदैन ।’

ओलीले त्यतिमात्र होइन २४ भदौमा सिंहदरबारमा आगो लगाउनेहरूको विषयमा पनि बोलेका छन् । उनले त्यतिबेला रोक्ने कोही भएको भए ५०/६० जनाले सिंहदरबार जलाउन नसक्ने दाबी गरेका छन् । उनले भने, ‘रोक्ने संयन्त्र नचलेपछि देशमा जे पनि हुन्छ भन्ने स्थितिको विकास भइरहेको छ ।’ ओलीले अहिले देशमा अराजक गतिविधि बढेको र राज्य संयन्त्रले प्रभावकारी भूमिका नखेलेको आरोप लगाएका छन् ।