स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवारदेखि सिंहदरबारबाटै सेवा प्रवाह गर्ने भएको छ । सिंहदरबार परिसरको दक्षिण-पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सञ्चालनको लागि अस्थायी संरचना निर्माण गरिएको र बिहीवारदेखि सोही क्षेत्रबाट कामकारबाही शुरु गर्ने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
उनकाअनुसार नेपाली सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि विश्व स्वास्थ्य संगठनको सहयोगमा त्यहाँ रहेको खाली जग्गामा ६ वटा प्रिफ्याब भवन निर्माण गरिएका छन् । उनले गत भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा आगलागीका कारण रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवन जलेर ध्वस्त भएको थियो । हाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट स्वास्थ्य मन्त्रालयले काम गरिरहेको छ ।
प्रवक्ता बुढाथोकीले जनसंख्या महाशाखा र स्वास्थ्य आपतकालीन केन्द्रबाहेकका सबै कारबाही बिहीवारदेखि स्वास्थ्य मन्त्रालयबाटै हुने जानकारी दिए । उनले बाँकी संरचनाको व्यवस्थापन भएपछि केही दिनमै मन्त्रालय पूर्ण रुपमा सिंहदरबार सर्ने बताए । मन्त्रालयको काम कारबाही शुरु गर्न सेनाले प्रयोग गर्दै आएका संरचनाहरुमा समेत रंगरोगन गरेर तयार पारिएका छन् ।


















