प्रधानमन्त्रीलाई फिर्ता बोलाउन माग राख्दै २३ जेन–जी समूहले राष्ट्रपतिलाई बुझाए ज्ञापन

विभिन्न २३ वटा जेन–जी समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री सुशीला कार्कीप्रति असन्तुष्टि जनाउँदै ज्ञापनपत्र बुझाएका छन् । आज राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाउँदै ती समूहले प्रधानमन्त्री कार्कीले प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन र ठूला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाहीलगायतका काम गर्न नसकेको आरोप लगाएका छन् ।

उनीहरुले सुशासनको क्षेत्रमा काम नगरी चुनावकेन्द्रित अभियानमा लागेको भन्दै गुनासो पनि ज्ञापनपत्रमा उल्लेख गरेका छन् । जेन–जी आन्दोलनको भावनाअनुसार काम नगरेको भन्दै ती जेन–जी समूहले दिशाहीन बनेको सरकारले आफ्ना माग पूरा गर्न नसके तत्काल प्रधानमन्त्रीलाई फिर्ता बोलाउनसमेत माग गरेका छन् ।

उनीहरूले मागपत्रमा भनेका छन्, ‘यो विद्रोह र शहादत केवल अर्ली इलेक्सनका लागि मात्रै भएको थिएन ।’ यद्यपि, ज्ञापनपत्र बुझाउनेहरूमा अहिले राजनीतिक वृत्तमा सक्रिय नेपाल जेन–जी फ्रन्ट, जेन–जी अलाइन्सजस्त ठूला समूह भने देखिएका छैनन् । ज्ञापनपत्र बुझाउनेमा जेन–जी नेशनल फ्रन्ट लाइनर, जेन–जी स्पार्क, एनटेक जेन–जी, ऋणी एसोसिएसन, जेन–जी वाई युनाइटेडलगायत छन् ।