यही मंसिर ९ देखि १६ दिने अभियान सन्चालनमा छ, लैगिँक हिँसा विरुद्धको अभियान । यसपालिको देशको नारा प्रविधिको सही प्रयोग गरौँः लैगिँक हिँसा अन्त्य गरौँ भन्ने छ । साँच्चै हामीलाई प्रविधिको प्रयोगले हिँसा बढाएको आभास भइरहेको छ र जति जति यस्ता अभियान बा दिवस मनाउँदै जान्छौँ तत्तत् विषयमा समस्या थपिँदै गएको देखिन्छ । वैदिक भूमि नेपालमा महिलाप्रति अन्याय बा अनादर हुनु हुन्न, सुहाउँदैन कतै पनि, कसैप्रति ।
अरि भनेको रिपु बा शत्रु जसको शत्रु हुन्न, न भनेको हुन्न, न र अरिको जोडले नारी हुन्छ, शब्दले स्पष्ट गर्छ, नारी धर्ती, आमा, लक्ष्मी, प्रकृति सबै हुन् जसले कोही कसैप्रति वैर गर्न जानेकै हुन्न, त्यो नाम नारी हुन्छ । वेद, उपनिषदले नारीको सम्मान खोजेको छ र मनुस्मृतिको पहिलो वाक्याँश नै छ यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता ।
नारी, प्रकृतिको उपासना गर्न सिकाउने देवी भागवतको पहिलो वन्दना यस्तो छ । सृष्टौ या सर्गरुपा जगतवनविधौ पालनिया च रौद्री । संहारे चाऽपि यस्या जगदीदमखिलं क्रीडनं या पराख्या ।। पश्यन्ति मध्यमाऽथो तदनुभगवति वैखरी वर्णरुपा । साऽस्मद्वाचं प्रसन्नाविधिहरिगिरिसाऽराधितालं करोतु ।। अर्थात् सृष्टि, स्थिति र संहारमा त्रिदेवलाई पूर्ण सहयोग गर्ने त्रिदेवी जसलाई सबै देवताहरु आराधना गर्छन्, संहारमा जसले पूर्ण ब्रह्माण्डलाई केटाकेटीको एक खेलौना समान सम्झन्छ त्यस्ती देवीले हाम्रो अक्षर, वर्ण, व्याकरण, शव्द, साहित्य, अलंकार भरिदिऊन् र सदैव वन्दना गर्न सकूँ, सधैँ मिठो वाणी रहिरहोस् भन्ने हो ।
आद्य गुरु शँकराचार्यको शब्दमा कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति । वंशमा सन्तान खराव आउलान्, आमा कहिल्यै खराव हुन्नन् । रामको जन्म दिने आमा कौशल्या, कृष्णको जन्म दिने आमा देवकी र पालन गर्ने, यश दिने आमा यशोदा, असुर कुलमा भएर पनि गुरु आदेशले शिक्षित र दीक्षित भएकी हिरण्यकशिपु पत्नी कयाधु जसले नवधा भक्तिको सोपान तय गर्ने प्रह्लादको जन्म दिइन् आमा नै हुन् । पार्वतीलाई गुरुकुलको शिक्षा दिई असल गृहिणी बनाउने आमा हिमालय पत्नी मेनका, जगत्जननी आमा सीतालाई शिक्षा दिने परित्यक्त आमा शवरी, कृष्णलाई भोकाएका बेला काँचो केराको बोक्रा खुवाउने विदुर पत्नी सुलभा, ब्रह्मा, विष्णु, शिव त्रिदेवलाई एकै रुपमा जगाएर दत्तात्रेयका रुपमा सन्तान प्राप्ति गर्ने अत्रि पत्नी अनुसुया यी नारी नै हुन् । रावणलाई अन्तिम बेला सम्म रामप्रति वैर नगर्न सल्लाह दिने मन्दोदरी, महाभारतमा धेरै हण्डर खाएर पनि हरेस नखाने कुन्ती र शत्रुसंग बदला लिएरै छोड्ने द्रौपदी यी नारी पात्रहरु नै हुन् । अहिल्या द्रौपदी तारा कुन्ती मन्दोदरी स्तथा भन्ने प्रशंसा चर्चा चिन्तन वैदिक साहित्यमा सबैतिर छ, षष्टी माताको प्रार्थना गरिन्छ हरेक जन्मोत्सव कार्यमा, अष्टचिरन्जीविको पूजा गर्दा । सप्तर्षि पत्नी माता अरुन्धतीको पूजा प्रार्थना बिना नारी रजस्वला शुद्ध हुन्न, महिलाहरुको एकलौटी पर्व तीजमा ।
वेदलाई माता भनिएको छ, देश पनि नेपालमाता हो, माता दुई प्रकारको एक जन्म दिने अर्को आश्रय र उत्पादन दिने । पहिलो खाना वालकको स्तन आमाको, अन्नको पहिलो खाना दिने धर्ती त्यसको प्रतीक नारी । एक नारी घरमा ठीक रहे १० पुरुष घरमा ठीक रहन्छन्, नैतिक, इमान्दार र चारित्रिक । देव प्रार्थनामा पहिलो वन्दना त्वमेव माताबाट शुरु हुन्छ र पाश्चात्यमा पनि पहिले लेडिज् भन्दै सम्बोधन गरेर अनि मात्रै जेन्टलम्यान भन्ने आउँछ । कन्यापूजा, जीउँदो कुमारी पूजा, मनकामना, गोरखकाली बा यहाँ भएका लाखौँ देवी मन्दिरहरुले त्यही भनेका छन्, नारी जागेपछि सबैथरी पूरा हुन्छ, रामकृष्ण परमहंस, स्वामी विवेकानन्द सबै देवीकै उपासक थिए र पछिल्लो समयमा सिद्धार्थ गौतमलाई बुद्ध बनाउने आमा यशोधरा हुन् । आज पनि घरमा बा सार्वजनिक उत्सव, समारोहहरुमा स्त्रीहरुकै उल्लेखनीय उपस्थिति देखिएको छ जसले धर्मको रक्षा गरिरहेको छ, पूजा वा सत्संगमा आमा, दिदी बहिनीहरुकै भीड देखिन्छ बढी । आर्थिक वचत क्षमता पनि स्त्रीहरुमै अधिक रहेको पाइन्छ । नारी लक्ष्मी हुन्, सरस्वती पनि, उग्ररुपा काली दुर्गा पनि हुन्, जसलाई रणचण्डीको नामले पुकारिन्छ, बंगलामुखी, उग्रतारा, धूमावती जे भने पनि, अन्याय तिनले सहन सक्तिनन् ।
नारी व्यापारकी खेलौना होइनन्, विज्ञापनकी पात्र पनि होइनन्, प्रदर्शनमा नारी राख्नु हुन्न । नारी भोग्या होइनन्, पूज्या हुन् र त हिन्दु संस्कारमा दाइजो दिएरै गोडाको पानी खाएरै बाबु, दाजुहरुले बिहे गरिदिन्छन् र पश्चात् पनि पूजा नै गर्छन् पहिलो दक्षिणाको अधिकारी तिनै हुन्छन् । हामीले धर्म छोडेर नारीलाई खेलौना बनायौँ र हिँसा गरेका छौँ जसलाई पौराणिक चिन्तन र दर्शनले सहन सक्तैन । आज नारीहरुबाटै नारीको अस्मिता सुरक्षित भइरहेको छैन, पुरुषहरुबाट पनि अपहेलित भएको अबस्था छ, जुन घरमा नारीको सम्मान हुन्छ त्यहाँ देवताको बास हुन्छ । लैगिँक हिंसाले जो रुप उग्ररुप लिएको छ, अहिले नाराले हुन्न, व्यवहारले हुन्छ र शिक्षा, दीक्षाले हुन्छ, सत्पात्रको शिक्षा वैदिक शिक्षामा हामी कमी महसूस गर्दैछौँ र नारी पात्रहरु अहिले भड्किएको अबस्था छ ।




















