प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष) को आपत्ति, क्षमायाचना र राजीनामाको माग

काठमाडौं, जेठ १७ — नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष) ले प्रधानमन्त्रीले संसदमा नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता  दिनेश बर्ताैला द्वारा जारी प्रेस विज्ञप्तिमा उक्त अभिव्यक्तिलाई तथ्यहीन, गैरजिम्मेवार तथा राष्ट्रिय हितविपरीत भनिएको छ।

विज्ञप्तिमा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका भूभाग ऐतिहासिक तथा तथ्यगत रूपमा नेपालको अभिन्न हिस्सा रहेको दाबी गर्दै प्रधानमन्त्रीको भनाइले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि आघात पुगेको उल्लेख गरिएको छ।

पार्टीले प्रधानमन्त्रीको दाबी अनुसार नेपालले भारतीय भूमि मिचेको भए त्यससम्बन्धी प्रमाण, तथ्य, नक्सा तथा ऐतिहासिक आधार तत्काल सार्वजनिक गर्न माग गरेको छ। सीमा र सार्वभौमिकताजस्ता संवेदनशील विषयमा प्रमाणविना अभिव्यक्ति दिनु गैरजिम्मेवार कार्य भएको विज्ञप्तिमा उल्लेख छ।

संसदमा तथ्यहीन तथा राष्ट्रहितविपरीत अभिव्यक्ति दिनु प्रधानमन्त्रीको पदीय मर्यादा र संवैधानिक जिम्मेवारीविपरीत भएको आरोप लगाउँदै पार्टीले उक्त अभिव्यक्तिको भर्त्सना गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष) ले प्रधानमन्त्रीले नेपाली जनतासँग सार्वजनिक रूपमा क्षमा माग्दै तत्काल राजीनामा दिनुपर्ने मागसमेत गरेको छ। साथै, नेपालको भूमि, सार्वभौमिकता र राष्ट्रिय हितको रक्षा गर्न सम्पूर्ण देशभक्त नेपालीहरूलाई एकजुट हुन आह्वान गरेको छ।