भारतको गोवास्थित नाइट क्लबमा आगलागीमा परी मृत्यु भएका २५ जनामध्ये चारजना नेपाली रहेको खुलेको छ । मृत्यु भएका चारैजना उक्त क्लबमा कार्यरत रहेको गोवा प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चूर्णबहादुर पुन,विवेक कटवाल,सुदीप र सविनको पहिचान खुलेको प्रहरीले जनाएको छ । चारैजनाको पोस्टमार्टम रिपोर्ट आइसकेको र गोवाको अस्पतालमा शव राखिएको जनाइएको छ ।
गोवा सरकारले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासँग सम्पर्क गरी चारवटै शवलाई नेपाल पठाउन समन्वय भइरहेको गोवा पुलिसले जनाएको छ । उनीहरू कुन जिल्लाका हुन् खुल्न बाँकी छ। उक्त घटनामा मृत्यु भएकामध्ये २० जना क्लबका कर्मचारी रहेका छन् ।
सोही घटनामा पाँचजना पर्यटकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार उत्तरी गोवाको अर्पोरा गाउँको नाइटक्लबमा सिलिन्डर विष्फोट भएर ठूलो आगलागी हुँदा २५ जनाको मृत्यु भएको हो।



















