नेपालको बीमा दिगो छैनः स्वास्थ्यमन्त्री गौतम

अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा।सुधा गौतमले नेपालमा दिगो बीमाको व्यवस्था नरहेको बताएकी छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले सरकारी अस्पतालमा भएका आधारभुत सेवाहरुलाई राम्रोसँग सञ्चालन गर्न पनि आग्रह गरेकी छन् ।

आधारभुत सेवाहरु स्थानीय तहबाट नै उपलब्ध गराउनुपर्ने भएपनि जानेर वा नजानेर ठूला अस्पतालमा आउने गरेको उनको भनाई छ । ठूला अस्पतालमा विशिष्ट किसिमका सेवा दिनुपर्नेमा साना आधारभुत सेवा पनि दिनुपर्ने बाध्यताले अस्पतालमा भीड बढ्ने गरेको उनले बताइन् । अस्पतालमा हुने भीडले स्वास्थ्यकर्मीको काममा समेत उच्च चाप हुने र औषधिको समेत अभाव हुने गरेको उनको भनाई छ ।

उनले आम नागरिक र बीमा बोर्डमा पनि बीमाबारे बुझाइको कमी रहेको भन्दै यसबारे स्पष्ट हुन जरुरी रहेको बताइन् । अस्पतालमा थुप्रिएको चापलाई कसरी कम गर्ने र बीमालाई कसरी लक्षित समुदायसम्म पु¥याउने भन्ने ध्येयका साथ आफूहरुअघि बढिरहेको उनले जानकारी दिइन् ।

उनले लुम्बिनी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशमा मातृ शिशु मृत्युदर उच्च रहेको बताउँदै यि क्षेत्रमा अत्याधिक प्राथमकिताका साथ कार्यक्रम अघि बढाइरहेको दाबी गरेकी छन् ।