skip this वडा नं १६ बालाजु च:मती

सुमन लामा कांग्रेस पाँचथरकाे सचिवमा दाबेदार

नेपाली काँग्रेसले आसन्न महाधिवेशनको मिति सार्वजनिक गरेसँगै देशभरजस्तै पाँचथरमा पनि नेतृत्व चयनको तातोपन झन् बढ्दै गएको छ। जिल्लाभर पद–अधिकारमा आकांक्षा राख्ने नेताहरू खुल्न थालेका छन् भने कार्यकर्ताबीच नेतृत्वको नयाँ स्वरूपबारे व्यापक चर्चा सुरु भएको छ। यस्तैमा, पाँचथरका युवा तथा सक्रिय नेता सुमन लामाले १५औँ जिल्ला अधिवेशनमा सचिव पदका लागि उम्मेदवारी दिने तयारी भइसकेको बताएका छन्। हाल उनी नेपाल तरुण दल पाँचथरका जिल्ला अध्यक्ष तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।

दुई दशकभन्दा बढी समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेका लामाले अब पार्टीमा पुस्तान्तरण आवश्यक रहेको बताएका छन्। “जेनेरेसनल म्यान्डेटअनुसार अब पार्टीमा नयाँ पुस्ताले नेतृत्व सम्हाल्नैपर्छ। युवाको ऊर्जा, दृष्टि र क्षमतालाई संगठनमा ल्याउँदा पार्टी अझ सबल बन्छ,” लामा भन्छन्।

उनको लामो राजनीतिक यात्रामा संगठन विस्तार, युवालाई पार्टीमा आकर्षित गर्ने काम, स्थानीय मुद्दामा सक्रियता र कार्यकर्ताबिच आत्मीय सम्बन्धले उनलाई पाँचथरका कार्यकर्ताबीच ‘प्यारो नेता’का रूपमा स्थापित गरेको छ। कठिन समयका गतिविधि होस् वा संगठन निर्माणका पहल—लामा निरन्तर अग्रपंक्तिमा देखिँदै आएका छन्।

कांग्रेसभित्रका धेरैजसो कार्यकर्ताले लामालाई योजनाबद्ध, व्यवहारिक र सक्रिय नेतृत्वको रूपमा हेर्ने गरेको बताउँछन्। उनी युवालाई नेतृत्वमा ल्याउने, संगठनलाई समयसापेक्ष बनाउन दबाब दिने र स्थानीय–जिल्लास्तरमा सकारात्मक राजनीतिक वातावरण विकास गर्ने प्रक्रियामा निरन्तर सक्रिय छन्।

महाधिवेशन नजिकिँदै जाँदा पाँचथरमा अन्य पदका आकांक्षीहरू पनि सक्रिय बन्दै छन्। तर सचिव पदमा सुमन लामाको आकांक्षा खुलेसँगै जिल्लामा युवामुखी नेतृत्वबारे नयाँ बहस सुरु भएको छ। प्रदेश र केन्द्रसम्म पुग्ने प्रतिनिधित्वमा पनि युवा पुस्ताको भूमिका कस्तो हुने भन्ने विषय अहिले कांग्रेस भित्र चर्चाको प्रमुख एजेन्डाका रूपमा अघि आएको छ।

कांग्रेसको आगामी अधिवेशन नजिकिँदै जाँदा पाँचथरमा नेतृत्व चयनका बहस, भेटघाट, कार्यकर्तामाथिको परामर्श र तयारी थप तीव्र भइरहेको देखिन्छ। पार्टीको भविष्य र संगठन सुदृढीकरणका लागि यसपटकको अधिवेशन महत्वपूर्ण हुने मूल्यांकन गरिएको छ।