प्रधानमन्त्री सुशीला कार्कीले शनिबार तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्दैछिन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न लागेकी हुन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे छलफल तय भएको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए। सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा चुनावको तयारीमा छ।
नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले चुनावको विकल्प नरहेको बताउँदै आएका छन् भने नेकपा एमालेले भने फागुनमा चुनाव नहुने दाबी गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाको विषय उठाएको छ।
त्यसका लागि एमालेले केन्द्रीय समिति बैठकबाट निर्णय नै गरेर संसद पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट दायर गरिसकेको छ।
कांग्रेसले पार्टीबाट निर्णय नगरे पनि निवर्मान सांसदहरूले संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर संकलन गरेको छ।
शान्तिपूर्ण र भयरहित वातावरणमा चुनाव हुने वातावरण बनाउनका लागि भने तीनै दलका नेताहरूले सरकारसँग आग्रह गर्दै आइरहेको छ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी थिइन्।


















