राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता रविन्द्र मिश्रले निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारको सूचीमा आफ्नो नाम समावेश गरिएकोप्रति निर्वाचन आयोगप्रति कडा असन्तुष्टि जनाएका छन्। आयोगको सूचना तथ्यहीन रहेको दाबी गर्दै उनले २०७९ मंसिर २० गते नै काठमाडौं निर्वाचन क्षेत्र नं १ को कार्यालयमा उपस्थित भएर खर्च विवरण बुझाइसकेको बताएका छन्।
सोही दिन कार्यालयको छाप र दर्ता नम्बर १० सहित विवरण बुझिलिएको प्रमाण आफूले सुरक्षित राखेको उनले बताएका छन्। उनका अनुसार, खर्च विवरण बुझाएको दिनमै ‘रविन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख’ शीर्षकमा प्रमुख सञ्चारमाध्यममा समाचारसमेत प्रकाशित भएको थियो। यसभन्दा बढी सार्वजनिकता आवश्यक के थियो भन्ने प्रश्न उठाउँदै उनले आयोगको कामकारबाहीप्रति प्रश्न गरेका छन्।
करोडौं खर्च स्वीकार्ने नेतामाथि आयोग मौन देखिने तर आफूलाई पटक–पटक सूचना निकालेर दु:ख दिने व्यवहार आपत्तिजनक भएको उनको भनाइ छ। संवैधानिक निकायबाट यस्ता त्रुटि दोहोरिनु उचित नहुने भन्दै उनले भविष्यमा यस्तो कमजोरी नदोहोर्याउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।


















