अमेरिकाले सैन्य कारबाहीमा पक्राउ गरेका भेनेजुएलाका राष्ट्रपति निकोलस न्यूयोर्कस्थित ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टर

 

 

अमेरिकाले सैन्य कारबाहीमा पक्राउ गरेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अहिले न्यूयोर्कस्थित ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ।

उनीहरूलाई अदालतमा उपस्थित गराइने तयारी भइरहेको एक अमेरिकी कानुन कार्यान्वयन अधिकारीले जनाएका छन्।

अमेरिकाले शनिबार अप्रत्यासित सैन्य कारबाहीमार्फत मदुरो दम्पतीलाई पक्राउ गरेको थियो। त्यसपछि अमेरिकी सरकारी विमानमार्फत उनीहरूलाई न्यूयोर्क सहरको उत्तरमा रहेको स्टुअर्ट इन्टरनेसनल एयरपोर्ट ल्याइएको थियो।

उही दिन अमेरिकी न्याय मन्त्रालयले मदुरो र फ्लोरेसविरूद्ध नयाँ अभियोग सार्वजनिक गरेको छ। अभियोगमा उनीहरूले आपराधिक षड्यन्त्रमार्फत अमेरिकामा कोकिन तस्करी बढाउने योजना बनाउँदै अवैध रूपमा ठूलो सम्पत्ति आर्जन गरेको आरोप लगाइएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबारे टिप्पणी गर्दै भनेका थिए, ‘हामी यो देशलाई व्यवस्थित र व्यावसायिक ढंगले सञ्चालन गर्नेछौं। विश्वका उत्कृष्ट तेल कम्पनीहरू भित्र्याएर अर्बौं डलरको लगानी गराइनेछ।’

अमेरिकी सेनाका अनुसार मदुरो पक्राउ गर्ने कारबाहीमा १५० भन्दा बढी विमान, आक्रमण र गुप्तचर प्रयोजनका साधनसहित प्रयोग गरिएको थियो।