दश वर्षे सशस्त्र जनयुद्धको प्रमुख आधारभूमि मानिने पूर्वी रुकुममा २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक माहोल असाध्यै तातेको छ। विशेषतः नेपाली कम्यूनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं उम्मेदवार बन्ने चर्चाले चुनावी बहसलाई नयाँ मोड दिएको छ। तर जनयुद्धको केन्द्र मानिएको यही जिल्लामा प्रचण्डप्रतिको जनविश्वास कमजोर बन्दै गएको देखिन्छ भने नेपाली कांग्रेसका सम्भावित उम्मेदवार गणेश कुमार मल्लप्रति आशा र भरोसा बढ्दै गएको स्थानीय राजनीतिक विश्लेषकहरूको ठम्याइ छ।
जनयुद्धको आधारभूमिमा प्रचण्डप्रतिको बढ्दो असन्तोष
प्रचण्ड दशकौँदेखि राष्ट्रिय राजनीतिमा केन्द्रमा रहे। उनी तीन पटक प्रधानमन्त्री बने, पटक–पटक सत्ताको निर्णायक भूमिकामा पुगे। तर जनयुद्धको मूल्य चुकाएको पूर्वी रुकुमले अपेक्षित विकास, अवसर र सम्मान नपाएको गुनासो आज पनि उस्तै छ। “जनयुद्धका बेला सबैभन्दा बढी बलिदान रुकुमले दियो, तर शान्तिपछि सबैभन्दा बढी उपेक्षा पनि यही जिल्लाले भोग्यो” भन्ने आवाज स्थानीयस्तरमा अझै बलियो छ।
स्थानीयको आरोप छ—प्रचण्ड चुनावको बेला मात्र रुकुम सम्झिन्छन्। जितिसकेपछि काठमाडौं केन्द्रित राजनीति, सत्ता समीकरण र व्यक्तिगत शक्ति सन्तुलनमै उनको ध्यान सीमित हुन्छ। पटक–पटक प्रधानमन्त्री हुँदा पनि पूर्वी रुकुममा ठोस राष्ट्रिय स्तरका योजना, ठूला पूर्वाधार वा दीर्घकालीन रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन नसकेको तथ्यले प्रचण्डप्रतिको विश्वासलाई कमजोर बनाएको छ।
परिवारवाद र अवसर वितरणमा असन्तुलनको आरोप
प्रचण्डमाथि लाग्ने सबैभन्दा गम्भीर आरोपमध्ये एक हो—परिवारवाद र नजिकका व्यक्तिलाई मात्र अवसर दिने प्रवृत्ति। जनयुद्धमा जीवन गुमाएका सहिद परिवार, बेपत्ता परिवार र दशकौँसम्म पार्टीका लागि काम गरेका इमानदार कार्यकर्ता आज पनि उचित सम्मान र अवसरबाट वञ्चित रहेको उनीहरूको गुनासो छ। बरु, प्रचण्डका परिवारजन र सीमित घेराभित्रका व्यक्तिले सत्ता, पद र सुविधा पाएको आरोप बारम्बार उठ्दै आएको छ।
यही कारण, माओवादी आन्दोलनप्रति सम्मान राख्ने धेरै मतदातासमेत प्रचण्डको व्यक्तिगत राजनीतिप्रति असन्तुष्ट देखिन्छन्। “आन्दोलन राम्रो थियो, नेतृत्व गलत दिशातिर गयो” भन्ने धारणा पूर्वी रुकुममा बढ्दै गएको विश्लेषकहरू बताउँछन्।
माओवादीभित्रकै आन्तरिक द्वन्द्व
पूर्वी रुकुममा माओवादी केन्द्रभित्रको आन्तरिक असन्तुष्टि नयाँ होइन। अघिल्लो प्रदेशसभा निर्वाचनमा माओवादीकै बागी उम्मेदवार सुरल पुनले माओवादी गठबन्धनका आधिकारिक उम्मेदवार, पूर्व डिभिजन कमाण्डर तेजबहादुर बलीलाई ठूलो मतान्तरले पराजित गर्नु त्यसको स्पष्ट उदाहरण हो। यसले देखाउँछ कि माओवादी पार्टीभित्रको अन्तरविरोध अब जनतासम्मै पुगेको छ।
प्रचण्ड स्वयं उम्मेदवार बने पनि यही आन्तरिक असन्तुष्टि उनको लागि सबैभन्दा ठूलो चुनौती बन्न सक्ने देखिन्छ।
गणेश कुमार मल्ल: स्थानीय, सक्षम र परिणाममुखी नेतृत्व
यसको विपरीत, नेपाली कांग्रेसबाट सम्भावित उम्मेदवार गणेश कुमार मल्ललाई स्थानीय मतदाताले “काम गर्न सक्ने, बुझ्ने र पहुँच भएको नेता” का रूपमा हेर्न थालेका छन्। मल्ल केवल चुनावी उम्मेदवार होइनन्, उनी लामो समयदेखि व्यवसाय, सामाजिक सेवा र संस्थागत विकासमा सक्रिय व्यक्तित्व हुन्।
राष्ट्रिय भूमि आयोगमा रहेर उनले देखाएको कार्यसम्पादनले उनी प्रशासनिक क्षमता भएका नेता हुन् भन्ने सन्देश दिएको छ। भूमि समस्या जस्तो संवेदनशील विषयमा सन्तुलित र व्यावहारिक भूमिका निर्वाह गर्नु पूर्वी रुकुमजस्तो जिल्लाका लागि ठूलो अनुभव मानिन्छ।
युवामैत्री र विकासमुखी दृष्टिकोण
गणेश कुमार मल्ललाई युवा, व्यवसायी र समाजसेवीको प्रतिनिधि पात्रका रूपमा लिइन्छ। ‘सामाजिक रूपान्तरण तथा ग्रामीण विकासको आधार (फोस्टार्ड) नेपाल’ का केन्द्रीय अध्यक्षका रूपमा उनले ग्रामीण विकास, शिक्षा, रोजगारी र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गरेको अनुभव छ।
स्थानीय मतदाताहरू भन्छन्—मल्ल अवसर पाएमा नाराभन्दा काममा विश्वास गर्ने नेता सावित हुन सक्छन्। वैदेशिक रोजगारीमा निर्भर युवालाई स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने, कृषि र पर्यटनलाई व्यावसायिक बनाउने र आधारभूत पूर्वाधार विस्तार गर्ने उनको दृष्टिकोण व्यवहारिक देखिन्छ।
कांग्रेसभित्रको एकता र केन्द्रीय पहुँच
नेपाली कांग्रेसभित्र गणेश कुमार मल्ल सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन्। यसले उनी निर्वाचित भएमा केन्द्र सरकारसँग समन्वय गरी पूर्वी रुकुममा विकास बजेट र योजना ल्याउन सहज हुने आँकलन गरिएको छ। अघिल्ला वर्षहरूमा नेतृत्व कमजोर हुँदा पछाडि परेको रुकुम अब केन्द्रसँग बलियो पहुँच भएको प्रतिनिधि खोजिरहेको मतदाताको बुझाइ छ।
परिवर्तनको मनोविज्ञान
पूर्वी रुकुमको चुनावी राजनीति अब केवल “जनयुद्धको इतिहास” मा सीमित छैन। मतदाता भविष्य, रोजगारी, विकास र परिणाम खोजिरहेका छन्। प्रचण्डको राजनीतिक यात्राले उनलाई राष्ट्रिय स्तरको नेता बनायो, तर यही यात्राले पूर्वी रुकुममा थकान, असन्तोष र अविश्वास पनि जन्माएको छ।
यसको ठीक उल्टो, गणेश कुमार मल्ल नयाँ आशा, स्थानीय प्रतिनिधित्व र परिणाममुखी नेतृत्वको प्रतीक बन्दै गएका छन्। यही कारण, २०८२ को निर्वाचनमा पूर्वी रुकुमले इतिहासभन्दा भविष्य रोज्ने सम्भावना बलियो देखिँदै गएको छ।




















