मलाई सभापति वा प्रधानमन्त्री बन्ने लोभ छैनः शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफूलाई सभापति वा प्रधानमन्त्री बन्ने कुनै लोभ नभएको बताएका छन् । पार्टीको विशेष महाधिवेशनको सन्दर्भमा एक भिडियो सन्देश जारी गर्दै कोइरालाले आफ्नो निजी महत्त्वाकाङ्क्षा नभएको र कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहने स्पष्ट पारेका हुन् । कोइरालाले आफूलाई मन्त्री वा महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित नगरेको र सभापति वा प्रधानमन्त्री हुने कुराले पनि नलोभ्याउने दाबी गरे ।

अहिले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैली सँग लड्नुपरेको र अर्कोतिर ऊर्जावान् युवाहरूको असन्तोषको सामना गर्नुपरिरहेको कोइरालाले बताए । उनले पार्टीको विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखेको तर पार्टी विभाजनको सन्देश नजाओस् भनेर सतर्कता अपनाएको जिकिर गरे ।

कांग्रेस संक्रमणमा पर्दा कसरी र कसले त्याग र अपमान सहनुपर्छ भन्ने आफूलाई थाहा भएको भन्दै उनले अन्तिमसम्म पार्टीको भावनात्मक एकतामा अगाडि बढिरहने प्रण गरे।