पुष्पकमल दाहालको घोषणा: आगामी निर्वाचनमा युवालाई प्राथमिकतामा राखेर उम्मेदवार बनाइने

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा युवाहरुलाई अगाडि सार्ने रणनीति सार्वजनिक गरेका छन् । आज जेनजी रेडफोर्सले आयोजना गरेको जेनजी जागरण तथा सांस्कृतिक कार्यक्रममा उनले पार्टीको उम्मेदवार छनोटमा युवा र नवयुवालाई उच्च प्राथमिकता दिने बताएका हुन् ।

दाहालले जानकारी दिएअनुसार, समानुपातिक लिस्ट र प्रत्यक्ष निर्वाचन दुवैमा युवाहरुको सहभागीता बढाइनेछ । यसै क्रममा पार्टीको केन्द्रीय समितिमा पनि युवाहरुको उपस्थिति बलियो बनाउन तयारी भइरहेको छ । उनले भने, ‘हामीले जेनजी पुस्ताका मुस्कान खातुनलाई अगाडि सारेर हजारौं, लाखौं युवाहरुलाई सम्बोधन गर्न खोजेका छौँ। पार्टी निर्माणको क्रममा होस वा चुनावमा, प्रत्यक्ष वा समानुपातिकमा, युवालाई प्राथमिकतामा राख्ने हाम्रो उद्देश्य हो ।’

साथै, दाहालले जेनजी रेड फोर्सलाई पार्टीको भ्रातृसंस्था मान्यता दिने घोषणा गरेका छन् । उनले भ्रातृसंस्थाहरुलाई पूर्वमाओवादी शैली नअपनाउन र नेपाली कम्युनिष्ट पार्टीको स्प्रिटमा कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएका छन् ।