skip this वडा नं १६ बालाजु च:मती

कांग्रेस फुट्छ भन्दै सानेपा पुगे चन्द्र भण्डारी

काठमाडौं– पार्टी फुटमा साथ नदिने भन्दै डा. चन्द्र भण्डारी र सुनील शर्माले भृकुटीमण्डपस्थित नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनस्थल छाडेका छन् । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले जारी विशेष महाधिवेशनमा निर्वाचन प्रक्रियालाई गति दिएसँगै दुवै नेता भृकुटीमण्डपबाट बाहिरिएका हुन् ।
विशेष महाधिवेशनस्थल छाडेका डा. भण्डारी अहिले संस्थापनले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन सानेपा पुगिसकेका छन् । नेता भण्डारीले पार्टी विभाजनबाट आफू टाढा रहेको बताएका छन्। तर विशेष महाधिवेशनबाट आफू नहटेको बताउँदै उनले सबै पक्षलाई मिलाउन खोजिरहेको बताए।

‘विशेष महाधिवेशनलाई सेफ ल्यान्डिङ गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो कुरा हो। सबैलाई मिलाउने कुरा भइरहेको छ। विशेष महाधिवेशनको पक्षबाट म हटेको छैन। तर पार्टी विभाजन हुन्छ भने त्यसलाई मेरो स्वीकार्य छैन’, उनले भने, ‘म त पार्टी मिलेर अगाडि बढ्नुपर्छ, सर्वसम्मत हुनुपर्छ भन्ने पक्षमा छु।
सहमतिको बिन्दुबारे छलफल गरिरहेका छौँ । विशेष महाधिवेशन पक्षबाट पछि हटेको कुरा विश्वास गर्दिनँ, मिलाउने प्रयत्नमा छु।’

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएपछि सभापति देउवामाथि पार्टीलाई फुटबाट जोगाउन थप दबाब परेको छ। निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै विशेष महाधिवेशन सचिवालय संयोजक मनोमणि आचार्यले अब रेल गुडिसकेको प्रतिक्रिया दिएका छन् ।