नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक बसेको छ ।
ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकमा नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ । गत पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै १६६ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको थियो ।
विशेष महाधिवेशनपछि पार्टीमा विभाजनको स्थिति सिर्जना भएको अवस्थामा यो बैठक बसेको हो । बैठकमा पार्टीको संगठनात्मक अवस्था, समसामयिक राजनीतिक विषय तथा आगामी रणनीतिबारे छलफल भएको छ ।
विशेष महाधिवेशनबाट चयन भएपछि बसेको पहिलो केन्द्रीय समितिको बैठकले सभापति थापाकै नेतृत्वमा चुनावी घोषणा पत्र लेखन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।त्यस्तै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चुनाव परिचालन समिति गठन गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।
चालिसेले पार्टीको अभिलेखहरू अध्यावधिक गर्ने काम पनि तत्कालै सुरु हुने जानकारी दिए ।



















