युक्रेनले रुसका दुई वटा तेल प्रशोधन कारखानामा आक्रमण गरेको छ । अमेरिकाले प्रतिबन्धित रुसी तेल बिक्रीका लागि मस्कोलाई थप छुट दिएको केही घण्टापछि युक्रेनले यस्तो आक्रमण गरेको हो । युक्रेनले रूसको समारा क्षेत्रमा रहेको नोवोकुयबिशेभ्स्क र सिज्रान तेल रिफाइनरी, क्रास्नोडार क्षेत्रमा रहेको तिखोरेत्स्क तेल टर्मिनल, बाल्टिक सागरको भिसोत्स्क बन्दरगाह र कब्जामा रहेको क्राइमियाको सेभास्टोपोलस्थित एउटा तेल डिपोमा आक्रमण गरेको हो ।
रुसी रक्षा मन्त्रालयले यी आक्रमणहरू स्वीकार गरेको छैन । रुसले आफ्नो वायु रक्षा प्रणालीले रातभर २५८ युक्रेनी ड्रोन खसालेको जनाएको छ । तर, रुसी क्षेत्रीय अधिकारीहरूले आक्रमण र त्यसका असरहरू पुष्टि गरेका छन् ।
समारा क्षेत्रका गभर्नर व्याचेस्लाव फेडोरिश्चेभले औद्योगिक संरचनाहरूमा आक्रमण भएको बताएका छन् ।क्रास्नोडार क्षेत्रको आपतकालीन प्रतिक्रिया मुख्यालयले तिखोरेत्स्क तेल डिपोमा आगलागी भएको र आगो निभाउन २२४ कर्मचारी र ५६ उपकरण प्रयोग गरिएको जनाएको छ ।


















