निर्वाचन तयारी बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा, २१ फागुनमा मतदानमा बाधा नहुने संकेत

आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनको तयारी र हिमाली जिल्लाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन प्रधानमन्त्री सुशीला कार्की सोलुखुम्बु पुगेकी छन्। प्रधानमन्त्री कार्कीसँग उनका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावलसमेतको टोली आज बिहान हेलिकप्टरमार्फत सोलुखुम्बु पुगेको हो। टोली सुरुमा नाम्चे अवतरण गरी त्यसपछि सदरमुकाम सल्लेरी पुगेको छ।

सल्लेरीमा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका जिल्ला प्रमुखहरूले प्रधानमन्त्रीलाई स्वागत गर्दै निर्वाचन तयारी र समग्र सुरक्षा अवस्थाबारे ब्रिफिङ दिएका छन्। प्रेस सल्लाहकार रावलका अनुसार हालसम्मको मूल्याङ्कनले फागुन २१ गते निर्वाचन सम्पन्न गर्न उल्लेख्य समस्या नदेखिएको जनाएको छ। “विगतका वर्षहरूमा फागुन महिनामा हिउँ परेको रेकर्ड छैन। त्यसैले निर्धारित मितिमा मतदान गराउन कठिनाइ नहुने जानकारी अधिकारीहरूले दिनुभएको छ,” रावलले बताए।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लीला कुमारी केसी पाण्डेका अनुसार जिल्लामा कुल १२३ मतदान स्थल छन्। सम्भावित हिमपात भए सात वटा मतदान स्थल प्रभावित हुन सक्ने आकलन गरिएको छ, जसमध्ये चार वटा नाम्चेभन्दा माथिल्लो क्षेत्रमा पर्छन्। हाल ती सबै मतदान स्थल सामान्य अवस्थामा रहेको प्रशासनले जनाएको छ। प्रधानमन्त्रीको टोलीले आज र भोलि पूर्वी क्षेत्रका अन्य हिमाली जिल्लाको अवस्थाबारे पनि स्थलगत जानकारी लिने र त्यसपछि पश्चिम क्षेत्रतर्फ जाने कार्यक्रम रहेको प्रेस सल्लाहकार रावलले जानकारी दिए।