स्वदेशमा अपराध गरी विभिन्न देशमा लुकेर बसेका १० जनालाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको समन्वयमा पक्राउ गरी नेपाल फिर्ता ल्याएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार चालु आर्थिक वर्षमा ११ जनाविरुद्ध ‘रेड नोटिस’ र तीन जनाविरुद्ध ‘डिफ्युजन’ जारी गरिएको थियो। तीमध्ये रेड नोटिस जारी भएका आठ जना र डिफ्युजन जारी भएका दुई जनालाई विभिन्न देशबाट पक्राउ गरी स्वदेश ल्याइएको हो।
यस्तै, अघिल्लो आर्थिक वर्षमा ३४ जनाविरुद्ध रेड नोटिस र दुई जनाविरुद्ध डिफ्युजन जारी गरिएकोमा १७ जना रेड नोटिस तथा तीन जना डिफ्युजन जारी भएका प्रतिवादीलाई पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ। प्रवक्ता काफ्लेले फरार प्रतिवादीलाई पक्राउ गर्न तथा अन्तर्राष्ट्रियस्तरमा खोजतलास तीव्र पार्न नेपाल प्रहरी सधैं सक्रिय रहेको बताए। मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न, आसन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न तथा अपराध अनुसन्धान र नियन्त्रणलाई प्रभावकारी बनाउन विभिन्न सुरक्षा रणनीति अवलम्बन गरिएको पनि उनले जानकारी दिए।
फरार प्रतिवादीको अन्तर्राष्ट्रिय खोजीका लागि नेपाल प्रहरीअन्तर्गतको नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) को अनुरोधमा इन्टरपोल महासचिवालयले ‘रेड नोटिस’ तथा ‘डिफ्युजन’ जारी गर्दै आएको छ।


















