नेकपा एमालेले फागुन ३ गतेपछि मात्रै चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। निर्वाचन आयोगले फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गरी बुझाउन निर्देशन दिए पनि तयारी अधुरो रहेको भन्दै एमालेले म्यादपछि सार्वजनिक गर्ने जनाएको हो।
एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार अध्यक्ष केपी शर्मा ओली झापाबाट काठमाडौँ फर्किएपछि घोषणापत्रको मस्यौदा अध्ययनमा छन्। अध्यक्षबाट थपघट गर्नुपर्ने विषय समेट्न बाँकी रहेकाले फागुन ३ अघि सार्वजनिक गर्न कठिन रहेको उनले बताए।
उता नेपाली कांग्रेसले भने फागुन २ गते घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ। मतदानको मिति नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अझै घोषणापत्र सार्वजनिक गरेको छैन भने नेपाली कम्युनिस्ट पार्टीले यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेको छ। जनता समाजवादी पार्टीले आज फागुन १ गते घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ।




















